भक्तपुर-नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य हुने बताउनुभएको छ।
नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले भण्डारीको एमाले सदस्यता र राजनीतिक पुनः सक्रियता ‘गौण विषय’ भएको बताउनुभयो।
नेता गौतमले भन्नुभयो, ‘विद्यादेवी भण्डारी राष्ट्रपतिको पदमा निर्वाचित भएपछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको हो। त्यसैले अहिलेको विवाद केवल प्रचारको विषय हो।’
‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ। सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षण गर्छ। उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ, पार्टी छाड्न पर्दैन, गौतमले भन्नुभयाे, तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ। उहाँ केन्द्रीय कमिटीको निर्णयले नै जानुभएको हो। केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन।’
गौतमले एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध गर्ने गरी तीन विषयमा विधिवत् छलफलपछि निर्णय गरेको पनि जानकारी दिनुभयो। ‘केपी ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोपहरू निराधार छन्, गौतमले भन्नुभयो,’ ‘बैठक सर्वसहमतिको वातावरणमा सम्पन्न भएको हो।’





प्रतिक्रिया