अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अधिनायकवाद’ भन्नेलाई जेल हतकडी थाहा नहुन सक्छ: प्रधानमन्त्री ओली

‘अधिनायकवाद’ भन्नेलाई जेल हतकडी थाहा नहुन सक्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार-२०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरू नयनसिंह कठायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काइँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशिसहित पुरस्कृत गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झन्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले बिपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताउनुभयो।

‘अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने विपीहरु र हामीहरुलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेहरुलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ। अघिल्लो पुस्ताका विपी कोइरालाहरुले सङ्घर्षका लागि बाटो देखाउनुुभएको छ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युुनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन्। यी लडाइँमा विपी प्रेरणाको मियो हुनुहुन्थ्यो । अब विपी कोइराला र पुष्पलालहरु कुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुन्।’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गर्नुभएका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिनुभएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ।