कैलाली-कैलाली प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको छ।
कैलालीको चिसापानीस्थित कर्णाली नदी मूलस्रोत रहेको रानीजमरा-कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो।
कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ। राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरु भएका छन्।
आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ।
प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताउनु भयो।
प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको हो भन्नुभयो।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिंचाई आयोजना-सिक्टा, बबई, महाकाली तेस्रो, भेरी-बबई र सुनकोशी-मरिन बहुद्देश्यीय आयोजना-यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो।
उद्घाटनका लागि प्रधानमन्त्री ओली आज बिहान आयोजना स्थल आइपुग्नुभएकाे हाे।
कार्यक्रममा ऊर्जा मन्त्री दीपक खड्का पनि उद्घाटनमा सहभागी हुनुभएकाे छ।
सरकारको ११ अर्ब २३ करोड ३३ लाख रुपियाँ र विश्व बैङ्कको नौ अर्ब ३५ करोड २३ लाख लगानी भएको छ। आयोजनाबाट १४ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुगेको छ भने भने ४।७१ मेगावाटको विद्युत् उत्पादन भएको छ।
लम्की शाखातर्फ १४ किलोमिटर ६५० मिटर मूल नहर बनिसकेको छ। यसका शाखा र उपशाखा नहर बनेमा थप छ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने र आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर हुने छ।








प्रतिक्रिया