अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश विकासका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली

देश विकासका लागि सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएकाे छ। कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिवर्तन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, स्थायित्व कायम गर्ने गरी काम गरिरहेको बताउनु भएकाे हाे ।

प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘देशमा स्थिरता, स्थायित्व, विकास, सुशासन ल्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ, आगामी चुनावसम्म यो सरकार जान्छ।’ रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निर्माणबाट सरकारको विकासप्रतिको चाहाना एवं तीव्रता दिने कुरालाई झल्काएको उल्लेख गर्दै उनले यो आयोजनाको तेस्रो चरणको काम पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

प्रधानमन्त्री ओलीले १२० वर्षदेखिको परम्परागत सीपबाट सुरु भएको यो सिँचाइ प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीयको जनसहभागिता र सरकारको समन्वयबाट आजको यो सफलता प्राप्त भएको बताउनुभयाे।

देश विकासका लागि प्रतिबद्ध रहेका उहाँले यो सिँचाइ आयोजना निर्माणबाट नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भएको बताउनुभयाे ।

 प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो सिँचाइ आयोजनाको तेस्रो चरणको काम अघि बढाउन विश्व बैंकसँग ऋण लिने निर्णय गरेको छ।’

प्रधानमन्त्री ओलीले मधेसमा देखिएको सुक्खा ग्रस्त समस्याका साथै खानेपानीको अभाव समाधान गर्न ५०० वटा डिप बोरिङ जडान गर्न लागेको बताउनुभयाे। चुरे संरक्षणका लागि चुरे क्षेत्रमा मत्स्यपालन र पोखरी निर्माण गरी पानी रिचार्ज हुनसक्ने भएकाले सरकारको ध्यान यसतर्फ गएको उहाँले बताउनुभयाे ।

सुनकोशी मरिन डाइभर्सन, भेरी बबै सिँचाइ आयोजना, तमोर डाइभर्सनलगायत महत्त्वपूर्ण आयोजनाको निमार्ण पूरा गर्न सरकारले ध्यान दिएको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।