काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले बीबीआईएन (बङ्गलादेश, भुटान, भारत र नेपाल) देशहरूबिच व्यापार अभिवृद्धिका लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनुभएकाे छ।
३१ औँ कार्गो दिवसको अवसरमा नेपाल फ्रेट फर्वार्डस् एसोसिएसनले आयोजना गरेको नेपालको लजिस्टिक्स विकास र बीबीआईएन कनेक्टिभिटी विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनु भएकाे हाे। उहाँले भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधारको समुचित विकासले मात्रै व्यापार र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयाे।
‘भौतिक, संस्थागत र क्षेत्रीय पूर्वाधार विकासले समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउँछ,’ अध्यक्ष ढकाल भन्नुभयाे, ‘नेपालमा सडक, रेल, विमानस्थल र गोदाम पूर्वाधार अझै अपर्याप्त छन्। विशेषगरी सीमा नाकाहरू र मुख्य व्यापार मार्गहरूमा लजिस्टिक्स हबहरूको आवश्यकता छ।’
लजिस्टिक्स विकासले नेपालको निर्यात वृद्धि र विदेशी लगानी आकर्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।अध्यक्ष ढकालले प्रभावकारी र डिजिटल लजिस्टिक्स प्रणालीले व्यवसाय र उद्योगहरूको लागत घटाउने र सस्तो आपूर्ति शृङ्खला निर्माण गर्ने बताउनुभयाे।
नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि समुद्री पहुँचको महत्त्व पनि उहाँले जोड दिनुभयाे। यातायात र ढुवानी क्षेत्रमा निजी क्षेत्रको शतप्रतिशत लगानी रहेको उल्लेख गर्दै उनले यो क्षेत्रको विकासको लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयाे ।






प्रतिक्रिया