अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्व चयनका लागि आज मतदान हुँदै

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्व चयनका लागि आज मतदान हुँदै


हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम  बिहान १० बजेदेखि ११ बजेभित्र सञ्चालन हुनेछ। 

उम्मेदवारहरूको प्रारम्भिक नामावली  ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।

मंगलबारको दल बैठकमा लामाविरुद्ध २२ सांसदले मत दिएका थिए, जुन संख्या कांग्रेस संसदीय दलभित्र स्पष्ट बहुमत हो । लामाको पक्षमा १५ सांसद मात्र देखिएका थिए । लामालाई हराउँदै बलियो बनेको यो समूहको नेतृत्व प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका छन् । यही समूहबाट नयाँ नेताको उम्मेदवारीमा बलियो दाबेदारी रहेको बुझिएको छ ।

२०७९ पुस १३ मा भएको निर्वाचनमा भने लामा आफैले बानियाँलाई पाँच मतले पराजित गरेका थिए । तर, अहिले परिस्थितिमा ठूलो उलटफेर आएको देखिन्छ । लामाविरुद्धको अविश्वास प्रस्ताव दर्तासँगै कांग्रेसका पाँच मन्त्रीहरूले राजीनामा दिएका छन्, जसमा मंगलबारमात्रै खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री श्यामबहादुर खड्का पनि थपिएका हुन्। बाँकी चार मन्त्रीलाई लामा सरकारले पदमुक्त गरिसकेको छ । यद्यपि, लामाले स्पष्ट रूपमा भनेका छन्, ‘संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कानुनी बाध्यता छैन् ।’