सात बुँदे सहमतिमार्फत नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि यसको निरन्तरतामा केही नेताले सुरुदेखि नै प्रश्न उठाएका थिए। सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने सार्वजनिक भाषण सुन्दा सुन्दा नेपाली जनताका कान टट्टाए। तर सत्ता गठबन्धन टसमस भएन, भएको छैन। खास गरी माओवादी सुप्रिमो प्रचण्डको ‘सरकार ढाल्ने’ खेतीपातीले खासै फसल नदिएपछि उनी केही समय सत्तारूढ एमालेलाई कमजोर बनाउने ‘विद्या तीर’ अर्जाप्न व्यस्त रहे। नेकपा एमालेको नवौं पूर्ण बैठकले राष्ट्रपति भइसकेका व्यक्ति दलीय राजनीतिमा फर्कन नसक्ने फैसला गरेसँगै ‘विद्या तीर’ निष्प्रभता बन्यो। उता ठूलै बल लगाउँदा पनि देउवालाई दगाबाज बनाउन नसकेपछि फेरि प्रचण्ड ‘समाजवादी मोर्चा’को दुन्दुभि बजाउन थालेका छन् । तत्कालीन नेकपाबाट उछिट्टिएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको कानमा पार्टी एकताको चास्नी खन्याउने कार्यमा उनको दिनचर्या बित्न थालेको छ। ‘यता पहिरो उता भिर’को सङ्कटमा गुज्रिरहेका माधवसँगको प्रचण्ड इलु इलुले कुनै परिणाम दिने अपेक्षा गर्न सकिंदैन।
नेपाल कम्युनिस्ट आन्दोलनको लागि उर्वर भूमि बन्दै आएको छ। ९० को दशकमा विश्वमा आन्दोलनले ठूलो धक्का खाँदा पनि नेपालमा यो आन्दोलन नयाँ शिराबाट अगाडि बढिरह्यो। जननेता मदन भण्डारीको अगुवाइमा नेकपा एमालेले कम्युनिस्ट आन्दोलनलाई नयाँ विचार दिएपछि यसले थप उचाइ प्राप्त गर्यो। एमालेलाई त्यही विचारले देशको मूल प्रवाह बनाउने महत्त्वपूर्ण सफलता प्राप्त गर्यो।
तर नेपालको वाम आन्दोलन एकता र विभाजनको घन चक्करबाट गुज्रिरहेको छ। नेतृत्वको जुँगाको लडाइँबाट सुरु हुने टुटफुटलाई विचारको चास्नीमा डुबाउने र आफ्नो स्वार्थ पुरा गर्ने खेल निरन्तर चलिरहेको छ। प्रचण्ड र माधव यस्तो खेलका ओलम्पियन हुन्।
नेपालको कम्युनिस्ट आन्दोलनको विभाजनमा सामन्तवादी-प्रतिक्रियावादी षडयन्त्रको प्रमुख भूमिका रहँदै आएको छ । २०१७ सालको राजा महेन्द्रले जन निर्वाचित सत्तामाथि ‘कू’ गर्दा समर्थन गर्ने ‘कम्युनिस्ट’ होउन् वा पछिल्लो केपी ओली सरकार गिराउन नेपाली कांग्रेसलाई सघाउने माओवादी-समाजवादी होउन्, यो शृङ्खलाले निरन्तरता पाएको छ। नेपाली समाजको आमूल रूपान्तरण र नेपाली श्रमजीवी वर्गको पक्षमा प्राप्त हुने ठुलठुला अवसर यही टुटफुट र विभाजनको कारण गुमेका छन् र वाम शक्तिको विभाजनको फाइदा उठाएर कहिले सामन्तवादी त कहिले साम्राज्यवादी-पुँजीवादी शक्तिले नेपाली जनतामाथि हैकम जमाउँदै आएको छ।
२००६ सालमा गठित नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद-लेलिनवादको मार्ग निर्देशनमा लोकजनवादी राज्यसत्ता स्थापना गर्ने उद्घोष गरेको थियो। त्यसयता विभिन्न समयमा गठित वा पुनर्गठित वाम नद-नदीहरू सबैले समाजवादी समुन्द्रमा पुग्ने रणनीतिक गन्तव्य तय गरे पनि अधिकांश घटक कार्यनीति र कार्यदिशाको गोल चक्करमा रुमलिएका छन्।
अचम्म त के छ भने देशका लाखौं टोलसम्म आफ्नो सङ्गठन चलायमान रहेको, पटक-पटक सरकारको नेतृत्व गरेको, नेपालको धरातलीय यथार्थमा आधारित जनताको बहुदलीय जनवादी सिद्धान्तको विकास गरेको,सत्तामा हुँदा रणनीतिक महत्वका समाजवादोन्मुख कार्यक्रम लागू गरेको नेकपा९एमाले०देखि भर्खरै गठन भएका र देशभरि पचास-सय कार्यकर्ता पनि नभएका अमूल वाम घटकले आफू नै अब्बल र एक नम्बर पार्टी रहेको दाबी गर्दै आएका छन् । माधव र प्रचण्डले यस्तो दाबी नगर्ने कुरा भएन। तर आगामी आम चुनाव एक्लै लड्नु पर्यो भने पत्ता साफ होला कि भन्ने भय यी दुवै नेतामा छ।
२०४९ सालमा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको जगमा २०५१ सालमा प्रथम जन निर्वाचित कम्युनिस्ट सरकार गठन भएको थियो। जनस्तरमा मनमोहन सरकारको लोकप्रियता चरम चुलीमा पुगेको बेला चीनमा जस्तो गाउँबाट सहर घेर्ने र बन्दुकको बलद्वारा नौलो जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ माओवादी पार्टीले सशस्त्र विद्रोह सुरु गरेको थियो। सुरुमा कुलो आकारमा रहेको यो घटक १० वर्षमा ‘माओवादी बाढी’मा परिणत भयो। यस्तो लाग्दथ्यो, त्यो बाढी नदीमा परिणत हुँदै समाजवादी समुन्द्रसम्म पुग्दछ। तर त्यसो भएन। क्रमश: ‘बाढी’ सुक्यो, कुलोसरह सुक्यो, सुकिरहेछ। स्वघोषित महसुर माधव नेपालको पार्टीको हालत झन् नाजुक बन्दै गएको छ। अनि प्रचण्ड र माधव नेपालको गाला जोडाइले के परिणाम दिन्छ ?
भन्न परोइन, नदीको आफ्नो मिसन हुन्छ। चट्टान फोड्दै गन्तव्यमा पुग्ने तागत राख्दछ। नदी प्राकृतिक हुन्छ, नदी निरन्तर हुन्छ। नदीले आहारा र सहारा दुवै प्रदान गर्छ। आरोह-अवरोहबिच नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेले आफूलाई समाजवादी समुन्द्रमा पुग्ने स्पष्ट मिसन बोकेर साम्राज्यवादी-प्रतिक्रियावादी चट्टानसँग जुध्दै अगाडि बढेको नदी-शक्तिको रूपमा पटक-पटक प्रमाणित गरेको छ। देश र जनताको हितलाई सर्वोपरि राखेर अगाडि बढ्न सक्ने, साम्राज्यवादी-प्रतिक्रियावादी शक्तिसँग मुकाबिला गर्न सक्ने र आफ्ना आन्तरिक कमजोरीलाई सहजै सच्याउने क्षमता एमालेबाहेक अरू कुनै वाम पार्टीमा दृष्टिगोचर हुँदैन । कुनै समाजवादी मोर्चाले एमालेको उचाइ प्राप्त गर्न सक्दैनन्।
सबैलाई थाहा छ- कुलोको गन्तव्य कसैको खेतबारीसम्म मात्र हुन्छ। कुलो कसैको स्वार्थपूर्तिको लागि उसैले वा अरू कसैले निर्माण गरिदिएको हुन्छ।
प्रचण्ड नेतृत्वको माओवादी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी नदी बन्ने हुङ्कार गरे पनि अन्ततः प्रतिक्रियावादी-पुँजीवादी शक्तिका खेतबारी पटाउने कुलोमै सीमित हुनेछन्।
नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेको लोकप्रियतालाई दमन गर्न बाह्यशक्तिको इसारामा माओवादी कुलो खनिएको रहेछ भन्ने कुरा माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला ह्वात्त बढेको विदेशी चलखेल र देशको सार्वभौमिकता अखण्डतामाथि आघात पर्ने कार्यले प्रस्ट पारेकै छ। एमाले सरकारका पालामा सुरु गरिएको सन्तुलित कूटनीतिलाई तिलाञ्जलि दिएर ‘ठुल दाइ’ कूटनीतिको अङ्गीकार गर्ने प्रचण्डको नीति जनताको नोटिसमा छँदै छन्।
प्रतिक्रियावादी-पुँजीवादी आफ्नो खेत पटाउन माओवादी ‘स्थायी’ कुलो अपर्याप्त भएपछि ‘एकीकृत समाजवादी’ नामक अर्को अस्थायी कुलो थपियो। ‘नदी’ बन्ने क्षमता आर्जन गर्न नसकेका तर ‘कुलो’ बन्न तँछाडमछाड गर्ने अरू वाम पार्टीको त के कुरा गर्नु ?
पार्टी एकताले खासै सफलता पाउन नसकेको तथ्य तत्कालीन नेकपाको असफलताले पुष्टि गरेको वर्तमान सन्दर्भमा यस्ता स्वार्थ केन्द्रित भुलभुलैयामा रम्न छोडेर सच्चा क्रान्तिकारीहरू देशको मूल प्रवाह नेकपा९एमाले०मा क्रमश: समाहित हुनु नै एक मात्र सही विकल्प हुन सक्छ । नेपालको जनवादी क्रान्ति पूरा भएको र अब चाँडो समाजवादी व्यवस्था स्थापना नै नेपाली कम्युनिस्टहरूको केन्द्रीय कार्यभार भएको हुँदा पनि क्रान्तिकारीहरूको ध्रुवीकरणको अपरिहार्यता झन् टड्कारो बन्दै गएको छ। किनभने सच्चा कम्युनिस्ट बन्नु सफलताको सगरमाथा चुम्नका लागि हो, बरबादीको बगरमा बरालिनु होइन।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ।)







प्रतिक्रिया