हेटौंडा-नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित हुनुभएकाे छ। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई हराउँदै बुधबार भएको संसदीय दल नेता निर्वाचनमा प्रदेश सभापतिसमेत रहेका सांसद बानियाँ निर्वाचित हुनुभएकाे हाे ।
बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसदमध्ये बानियाँका पक्षमा २२ मत आयो भने मुख्यमन्त्री लामाका पक्षमा १४ मत आएको छ। एक मत बदर भएको छ।
मुख्यमन्त्रीका पक्षमा बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेश महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गीता गुरूङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी उभिएका थिए।
साथै मुख्यमन्त्रीको विपक्षमा ईन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्याम खड्का र कृष्णबहादुर तामाङ उभिएका थिए।
यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो। रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन्।
२०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए। संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् ।







प्रतिक्रिया