काठमाडौं-नेकपा एमाले वाग्मती प्रदेश कमिटीले वाग्मती प्रदेशमा विकसित भएको पछिल्लो घटनाक्रम बारे पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको छ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस पार्टी संसदीय दलमा विश्वासको मत गुमाएर इन्द्र बानिया संसदीय दलको नेता निर्वाचित भएपछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा पार्टी अध्यक्षलाई जानकारी गराइएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले जानकारी दिनुभयो।
‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग वाग्मती प्रदेश सरकार र विकसित नयाँ राजनीतिक परिस्थितिका सम्बन्धमा रिपोर्टिङ र छलफल भयो, अब पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा पार्टी अध्यक्षज्यूबाट निर्देशन प्राप्त भएको छ’, अध्यक्ष ढुङ्गेलले भन्नुभयो।
प्रधानमन्त्री ओलीसँगको भेटमा वाग्मती प्रदेशको राजनीतिसँगै राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको ढुङ्गेलले बताउनुभयो। ‘प्रधानमन्त्री ओलीसँग धेरै विषयमा छलफल भयो, उहाँबाट केही निर्देशनहरू पनि प्राप्त भएका छन्, सोही अनुसार पार्टी अगाडि बढ्छ’, उहाँले भन्नुभयो।
प्रधानमन्त्रीसँगको भेटमा इञ्चार्ज भट्टराई, प्रदेश अध्यक्ष ढुङ्गेलसँगै, वाग्मती प्रदेश सभामा पार्टी संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतको उपस्थिति थियो।





प्रतिक्रिया