काठमाडौं -हिमाली र पहाडी जिल्लाबाट भइरहेको तिव्र बसाँइसराइले राज्यका निकायलाई पनि समस्या पार्दै लगेको छ । मानिसहरु गाउँ छोडेर सहर तथा मधेसतिर बसाँइ सर्ने तर बसाँइसराइको प्रमाणपत्र नलैजाने प्रवृतिले पालिकाहरुले मान्छे खोज्दै सेवा दिनु परेको छ ।
यस्तै भएको छ ,गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा । पालिकामा सामाजिक सुरक्षा भत्ता लिने मानिसहरु गाउँ भन्दा बाहिर बस्ने तर अभिलेख गाउँमै भएकोले उनीहरु कहाँ छन् खोज्दै गाउँपालिका जाने भएको छ । गाउँपालिकाले एउक सुचना जारी गरेका सामाजिक सुरक्षा वितरण घुम्ती शिविर आयोजना गरिएको जनाएको छ । सुचना अनुसार बारपाक सुलिकोट गाउँपालिकाबाट सबैभन्दा धेरै बसाँइजाने क्षेत्र चितवन भरतपुर र काठमाडौंमा अलग अलग घुम्ती शिविर आयोजना गरिएको हो ।
सुचनामा उल्लेख भए अनुसार भरतपुरको गणेश खाजा घर रिजाल चोकमा साउन २६ र २७ गते १ देखि ८ वटै वडाका लाभग्राहीलाई बोलाइएको छ । यस्तै काठमाडौंमा ताकुकोट सेवा समाजको कार्यलय वनस्थलीमा १ देखि ४ नम्बर वडाका लाभग्राहीलाई साउन २९ मा र ५ देखि ८ नम्बर वडाका लाभग्राहीलाई ३० गते बोलाइएको छ । साउन ३१ गते सोही ठाउँमा सम्पूर्ण छुट भएका लाभग्राहीलाई सम्पर्क गर्न पालिकाले सुचना जारी गरेको छ ।
गाउँपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ता लिने जनसंख्या करिब ६ हजार रहेकोमा आधा भन्दा बढी गाउँपालिका बाहिर छन् । ‘हाम्रो गाउँपालिकाबाट मुख्य बसाँइ जाने क्षेत्रहरु पहिचान गरेर घुम्ती शिविर राखेका छौं’ गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्ट भन्छन् ‘यस वर्ष देखि सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बायोमेट्रिक अनिवार्य भएकोले जनता जता छन् उत्तै जानु परेको हो ।’
अघिल्ला वर्षहरुमा कागजपत्रका आधारमा आफन्तले पनि भत्ता बुझ्न व्यवस्था थियो तर यस वर्षदेखि सम्बन्धित व्यक्तिको औंठाछाप –बायोमेट्रिक) अनिवार्य गरिएकोले बसाँइसरेर गएकै ठाउँमा भत्ता लिएर जानु परेको हो । ‘गाउँबाट मान्छे बसाँइसरेर अन्तै गएका छन् । बसाँइसराइ कागज लगेका छैनन्’ पालिकाका एक जनप्रतिनिधी भन्छन् ‘बसाँइसराइ लैजाउ भन्न पनि सकिएको छैन । जबसम्म हाम्रो पालिकामा अभिलेख रहन्छ तबसम्म सेवा दिनु हाम्रो कर्तव्य हो ।’
बैदेशिक रोजगारीमा गएका युवाका आफन्तहरु सहरतिरै बस्ने भएकोले गाउँमा रित्तिदै गएको छ । बसाँइसराइ प्रमाण नलगेसम्म आफ्नै मतदाता,आफ्नै बासिन्दा भएकोले पालिकाले सकेको सेवा गर्नै पर्दछ भन्ने लागेर यहाँबाट सरेका मान्छेहरुको बाक्लो बस्ती भएको ठाउँमा भता बाँड्न लागिएको ति जनप्रतिनिधीले बताए । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या २२ हजार ६ सय ३६ रहेको छ । २०६८ मा यस गाउँपालिकाको जनसंख्या २५ हजार ३ सय ८९ रहेको थियो । यहाँको वार्षिक जनसंख्या वृद्धिदर –१.१ प्रतिशत रहेको छ ।







प्रतिक्रिया