अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने


काठमाडौँ-निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने भएको छ। आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कनसम्बन्धी कार्यविधि’ को मस्यौदा तयार गरेको छ। 

मस्यौदामा दलहरूको मूल्याङ्कनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ। मस्यौदाले सङ्गठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२ तथा दलको जिम्मेवारीका लागि १५ अंकार प्रस्ताव गरेको छ। त्यसैगरी, लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १० अङ्क, कोष व्यवस्थापन र लेखा परीक्षणजस्तो महत्त्वपूर्ण पक्षका लागि २० अङ्क, निर्वाचनमा सहभागिता र प्रतिनिधित्वका लागि १५ अङ्क तथा अन्य राजनीतिक व्यवस्थाका लागि १० अंकार तोकिएको छ।

स्वमूल्याङ्कनका क्रममा आयोगले दलहरूले विधान र कानुनको पालना गरे/नगरेको विस्तृत रूपमा हेर्नेछ। यसअन्तर्गत दलको विधानमा उल्लेख भएबमोजिम केन्द्रीय, प्रदेश र स्थानीय तहका समितिहरूको गठन, प्रत्येक पाँच वर्षमा हुनुपर्ने पदाधिकारीको आवधिक निर्वाचन, र संसदीय दल गठनको अवस्थाजस्ता विषयहरू मूल्याङ्कनको आधार बन्नेछन्। आन्तरिक व्यवस्थापनतर्फ सदस्यताको अद्यावधिक विवरण र नियमित बैठकहरूलाई हेरिनेछ भने आर्थिक पारदर्शीताका लागि दलको छुट्टै कोष, बैंक खाता सञ्चालन, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीबाट लिए/नलिएको र एक लाखभन्दा बढीको चन्दामा स्रोत खुलाएको/नखुलाएको जस्ता पक्षहरूको जाँच गरिनेछ ।