अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न सरकार अघि बढिरहेको छ: प्रधानमन्त्री ओली

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न सरकार अघि बढिरहेको छ: प्रधानमन्त्री ओली


काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा गर्ने बाटोमा सरकार अघि बढिरहेको बताउनुभएको छ।

शुक्रबार भक्तपुरमा आयोजित वाग्मती प्रदेश पूर्ण खोप घोषणा तथा डिजिटल हेल्थ प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समृद्धि भनेको आधुनिक नेपाल भएको बताउनुभयो। ‘हामी यहाँका जनतालाई सुखी बनाउन चाहन्छौँ, यो भन्दा ठुलो र पवित्र अर्को उद्देश्य हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

स्वास्थ्य क्षेत्रमा निरोगी नेपाल बनाउने लक्ष सरकारले लिएको प्रधानमन्त्री ओलीले बताउनुभयो। ‘जहाँ कुनै प्रकारको विषादी कसैले खानु नपरोस्, पौष्टिक चिज नेपाली जनताले खान पाउन्, कसैलाई पनि रोग नलागोस्, निरोगी नेपाल बनोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

नेपाललाई स्वच्छ र स्वास्थ्य राख्न सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो। ढल खोलामा मिसाएर सफाइ अभियान चलाएर सार्थक नहुने उहाँको भनाइ छ।

बिरामी भएपछि अस्पताल जाने भन्दा अस्पताल नै जानु नपर्ने निरोगी नेपाल बनाउने अभियान चलाउनु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो। तथापि रोग लाग्यो भने अस्पताल र डाक्टर चाहिने भन्दै उहाँले सरकारले त्यसको पनि तयारी गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले माथिल्लो वहदामा बस्नेहरू तलबको लागि लड्ने भए पनि स्वयंसेवीहरू सेवामा समर्पित हुने बताउनुभयो । सामुदायिक स्वास्थ्य स्वयम्सेवीकाको योगदानको ओलीले खुलेर प्रशंसा गर्नुभयो।

प्रधानमन्त्री ओलीले स्वास्थ्य रहन पाउनु नेपाली नागरिकको मौलिक हक भएको बताउनुभयो। त्यसैले यसमा राज्यका सबै निकाय जिम्मेवार हुनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो।

नेपाल अर्को वर्ष विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको बताउँदै प्रधानमन्त्री ओलीले यस्तै कामले देशलाई स्तरोन्नतिमा सहयोग गर्ने बताउनुभयो । दिगो विकास गन्तव्यको लागि पनि यस्ता कामले सहयोग गर्ने ओलीको धारणा छ।