अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री कार्कीद्वारा प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन

मुख्यमन्त्री कार्कीद्वारा प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज प्रेस क्लब भद्रपुर झापाको कार्यालय भवनको उद्घाटन गर्नुभएको छ। कार्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पत्रकारहरुले सकारात्मक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।

पछिल्लो समयमा नकारात्मक समाचारले प्राथमिकता पाउँदा समाज गलत दिशातर्फ गएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले समाजलाई सही ढंगले अगाडि बढाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

पत्रकारहरूकै योगदानका कारण अहिलेको व्यवस्था आएको चर्चा गर्दै यो व्यवस्थालाई बलियो बनाउनका लागि पनि पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो। देशमा केही भएन र केही भएको छैन भन्ने भाष्य तयार गरिँदै गरेको बताउँदै उहाँले अहिलेको विकास निर्माणलाई हेर्ने हो भने त्यो भाष्य गलत हुने दाबी गर्नुभयो।

३० वर्षमा हुन नसकेको विकासको काम प्रदेश सरकारले ७ वर्षमा गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले मात्रै ७ सय किलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको जानकारी दिनुभयो। देशकै पुरानो नगर भएर पनि भद्रपुर पछिल्लो समयमा पछाडि परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई अगाडि बढाउनको लागि सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल पत्रकार महासंघ कोशीका अध्यक्ष, भद्रपुर नगरपालिकाका मेयर गणेश पोख्रेल लगायतले कार्यक्रममा बोल्नुभएको थियो। सो कार्यक्रममा सहयोगी र अग्रज पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो। कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवी समेतको सहकार्यमा सो कार्यालय भवन निर्माण गरिएको हो। करिब २२ लाख रुपैयाँको लगानीमा भवन निर्माण भएको जानकारी क्लबले दिएको छ।