अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह : मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस

पत्रकारलाई सञ्चारमन्त्रीको आग्रह : मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ नहुनुहोस


काठमाडौं- सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकका बारेमा पत्रकारहरुलाई ‘इमोसनल’ नहुन आग्रह गर्नुभएको छ । पत्रकारहरु समाजकै एक अंग भएकोले सरकारले यो क्षेत्र र अन्य क्षेत्रलाई गर्ने व्यवहारमा फरक नहुने उहाँको भनाइ छ ।
प्रेस चौतारी नेपालले मिडिया काउन्सिल विधेयकका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विधयेकमा व्यवस्था भएका नियुक्ती सिफारिस सम्बन्धी प्रावधानमा पत्रकारहरुको बढ्ता आपत्ती गर्नु जायज नभएको बताउनुभएको छ । ‘प्रेस जोडिएका सबै संस्थामा पत्रकारहरुले मात्र प्रतिनिधित्व गर्नु पर्दछ भन्ने हुदैन’ गुरुङले भन्नुभयो ‘काउन्सिल नियमनकारी निकाय भएकोले यसको अध्यक्षमा पूर्व न्यायधिसलाई पनि नियुक्त गर्न सक्ने प्रावधान उपयुक्त हुन्छ ।’ मन्त्री गुरुङले नियुक्तीको सिफारिस मन्त्रीले गर्दा राजनीति हुने सभामुख र राष्ट्रपतिले गर्दा राजनीति नहुने भन्ने सोचाइ गलत भएको बताउनुभयो । ‘सरकारले नियुक्ती गर्ने ठाउँमा केही न केही राजनीति हुन्छ । मन्त्रीले गर्दा सिफासिर गर्दा राजनीति हुने अरुले गर्दा गैह्र राजनीति हुने भन्ने पत्रकारहरुले सवाल उपयुक्त छैन’ मन्त्री गुरुङले भन्नुभयो ‘काउन्सिलको अध्यक्ष मन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गर्ने गरी गर्नुपर्दछ । ’
काउन्सिलको अध्यक्ष हुन चाहने व्यक्तिले परीक्षा,अन्तर्वार्ता दिन तयार हुनुपर्ने मन्त्री गुरुङको भनाइ छ । नियमनकारी निकायको प्रमुख हुने व्यक्तिले कुनै परीक्षा पनि दिनुनपर्ने भन्ने सवाल नै सही नभएको उहाँको भनाइ छ । ‘सिधै सिफारिस गर्नुपर्ने भन्ने तपाईंहरुको तर्क ठिक छैन ’ मन्त्री गुरुङले भन्नुभयो ‘नियुक्ती खाने भए परीक्षा दिन,अन्तर्वार्ता दिन पनि तयार हुनुपर्दछ । ’
मन्त्री गुरुङले काउन्सिलले वार्षिक प्रतिवेदन पनि सरकारलाई नै बुझाउनु उपयुक्त हुने बताउनुभयो । प्रतिवेदनका सुझावहरु सरकारले कार्यन्वयन गर्ने भएकोले प्रतिवेदन पनि सरकारलाई बुझाउने पर्ने उहाँको तर्क छ । मन्त्री गुरुङले काउन्सिलको अध्यक्ष तीन महिनासम्म निलम्बन हुने स्थिती आएमा नयाँ अध्यक्ष नियुक्तीको बाटो पनि खुलाउनु पर्ने बताउनुभयो । प्रेस चौतारीले विधेयकलाई गहन अध्ययन गरेर भावनामा नबगी सरकारलाई सकारात्मक सुझाव दिन मन्त्री गुरुङले आग्रह गर्नुभएको छ ।
अन्तरक्रियामा चौतारीका अध्यक्ष गणेश पाण्डेले विधेयकलाई विवाद रहित र पत्रकारको अधिकत्तम हितमा होस भन्ने हेतुले अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो । ‘विधेयकलाई संविधानको मर्म अनुसार बनाउने हिसाबले सुझाव दिनका लागि अन्तरक्रिया आयोजना गरिएको हो’ पाण्डेले भन्नुभयो ‘चौतारीका अग्रज र विभिन्न पेशागत संगठनका धारणा समेटेर सरकार र संसदीय समितीलाई हामी लिखित सुझाव बुझाउछौं । ’ मन्त्री गुरुङले प्रेस स्वतन्त्रताप्रति विधेयक संवेदनशिल रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले मिडिया काउन्सिल भन्ने संस्था विश्वमा नै ‘प्रेस कम्प्लेन काउन्सिल’ भएकोले यस संस्थामा सञ्चार उपभोक्ताहरुको उल्लेख्य प्रतिनिधित्व हुनुपर्ने सुझाव दिनुभयो । उहाँले काउन्सिलको पदाधिकारीका नियुक्तीमा सरकार र पत्रकारले अडान राखेकोले द्वन्द्व सृजना भएको बताउनुभयो । उहाँले अध्यक्ष नियुक्ती गरेपछि पुरा कार्यकाल हटाउन नमिल्ने प्रावधान राख्नुपर्ने गाउँलेको भनाइ थियो । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष डा.महेन्द्र विष्ट लगायत पत्रकारका विभिन्न पेशगात संस्थाका प्रतिनिधीहरुले धारणा राखेका थिए ।