काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एक व्यक्तिको धारणा समग्र राष्ट्र वा राज्यको आधिकारिक सोच नहुने स्पष्ट गर्नुभएको छ।
आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत महासचिव पोखरेलले एक प्रशासकको धारणा आधारमा बहुविवाह जस्तो संवेदनशील विषयमा सिङ्गो राज्यलाई जिम्मेवार बनाउने ढङ्गले बहस हुनु दुःखद भएको उल्लेख गर्नुभएको छ।
महासचिव पोखरेलले लेख्नुभएको छ, ‘कुनै एक जना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन, सिङ्गो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो।’
हालै कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले सडकमा पुगेका महिलाहरूको उद्धार गर्न बहुविवाहलाई कानुनी मान्यता दिनुपर्ने भन्ने धारणा सार्वजनिक गरेपछि बहस सुरु भएको हो। सचिव ढुङ्गानाको भनाइप्रति तीव्र आलोचना भइरहेको छ। अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक समाजले बहुविवाह कानुनी मान्यता दिने विचारलाई संविधान र महिला अधिकारको विरुद्ध ठहर गर्दै आपत्ति जनाएका छन्।
एमाले महासचिव पोखरेलको धारणा सोही पृष्ठभूमिमा सार्वजनिक भएको हो । उहाँको धारणाले सत्तारुढ दल र सरकार त्यसको पक्षमा छैन भन्ने पुष्टि गरेको छ।








प्रतिक्रिया