अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि मन्त्रीपरिषद् बैठक सुरु भएको हो।

आज राति तुर्कमेनिस्तानको भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि बैठक राख्नुभएको हाे।

बैठकले दैनिक प्रशासनिक कामकारबाहीका विषयमा आवश्यक निर्णय गर्ने जनाएको छ।

 प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। 

यही साउन २० देखि २३ गतेसम्म आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा समेत  प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ। प्रधानमन्त्री ओली साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।