अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन


काठमाडौँ-गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिनुभएकाे छ।

आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएकाे हाे। ‘निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु’, गृहमन्त्री लेखकले भन्नुभयाे, ‘नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’

सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयाे। मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिनुभयाे। ‘प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ’, उहाँले भन्नुभयाे ‘प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।