अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेतृ विमला अर्यालको नेतृत्वमा महिलामैत्री सहर बन्दै सुनवल

एमाले नेतृ विमला अर्यालको नेतृत्वमा महिलामैत्री सहर बन्दै सुनवल



परासी-पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्न आवश्यक प्रक्रिया सुरु भएको छ।

नेकपा एमालेबाट निर्वाचित मेयर विमला अर्यालको नेतृत्वमा सुनवललाई महिलामैत्री सहर बनाउन लागिएको हो। मेयर अर्याल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ।

महिलामैत्री सहरका लागि स्थानीय समुदायको सहभागितामा जनताका चाहना बमोजिमको योजना डिजाइन प्रक्रिया अघि बढेको मेयर अर्यालले जानकारी दिनुभयो।

सार्वजनिक स्थलमा महिला, बालबालिका र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच र सुरक्षाको अवधारणा अनुसार महिलामैत्री सहर निर्माणको काम अघि बढाइएको हो।

आइतबार सुनवल–६ विशासयमा स्थानीय जनप्रतिनिधि र समुदायसँग उक्त वडाको सम्भावित योजना र डिजाइनका विषयमा समूहगत छलफल गरिएको छ । उक्त वडामा रहेका खुल्ला क्षेत्रमा कस्तो पूर्वाधार निर्माण गर्न सकिन्छ भनेर वडामा रहेका सबै टोल विकास समितिका प्रतिनिधि र जनप्रतिनिधिसँग समूहगत छलफल गरिएको सुनवल नगर प्रमुख अर्यालले बताउनुभयो।

महिलाहरूको सुरक्षा,पहुँच, सशक्तीकरण र समावेशी विकासलाई प्राथमिकता दिँदै नगरपालिकाले वडा स्तरमा छलफल र अन्तर्क्रिया मार्फत सम्भावनाको खोजी गरिरहेको उहाँले बताउनुभयो। ‘हामीले समुदायका व्यक्तिहरूको चाहना र स्थानीय सम्भाव्यताका आधारमा समुदायकै सहभागितामा योजना छनौट गरी महिलामैत्री पूर्वाधार निर्माणलाई जोड दिएका छौँ’, मेयर अर्यालले भन्नुभयो, ‘परियोजनाको नाम महिलामैत्री सहर भए पनि यस अन्तर्गत अल्पसंख्यक मैत्री, अपांगतामैत्री,ज्येष्ठ नागरिकमैत्री नगरका रूपमा पनि सुनवललाई विकसित गर्ने लक्ष्य हो।’

देशभरका सात स्थानीय तहलाई छनौट गरी महिलामैत्री सहर निर्माण गर्ने योजना अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका पनि छनौटमा परेको हो। सुनवल नगरपालिकाले सहरी विकास मन्त्रालयसँगको सहकार्यमा यूनोप्स संस्थासँगको साझेदारीमा यो परियोजना सञ्चालनमा ल्याएका हो।

मेयर अर्यालका अनुसार पहिलो चरणमा नगरका सबै वडाका विभिन्न खुल्ला क्षेत्रहरूको पहिचान गर्ने र समुदायको प्राथमिकताको आधारमा स्थान छनौट गरी योजनाको डिजाइन गर्ने काम भइरहेको छ।

समुदायमा आधारित महिलामैत्री सहर निर्माण गर्ने योजना अनुसार स्थानीय समुदायको सहभागिता र आवश्यकताको आधारमा योजनाको डिजाइन गरिएको यूनोप्सका आर्किटेक्ट अनुप घिमिरेले बताउनुभयो। ‘खुल्ला क्षेत्रमा संरचना बनाउँदा स्थानीयहरूको सहभागिता,अपनत्व र दीर्घकालीन रूपमा सञ्चालन गर्न समुदायको सहभागितामा छलफल गरिरहेका छौँ’, उहाँले भन्नुभयो।

खुल्ला स्थानको पहिचान गरेर शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका संरचना महिलामैत्री बनाउने परियोजनाको उद्देश्य रहेको छ। परियोजनाले वडा नं.१, ४, ५ ,८ मा स्थानीयसँगको छलफलको आधारमा खुल्ला स्थानको पहिचान गरी योजना छनौट गरी नक्सांकन गरेको छ । आर्किटेक्ट घिमिरेका अनुसार वडा नं. १ मा सोमनाथ हाटबजार,बाल उद्यान,वडा नं. ५ मा विष्णु पाण्डे स्मृति पार्क, वडा नं. ४ मा महाकवि देवकोटा क्याम्पस अगाडिको खुल्ला स्थानमा पार्क र वडा नं. ८ मा हाटबजारमा पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ ।