काठमाडौं-प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने स्पष्ट पार्नु भएकाे छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराउँदै जनताले चिताएका परिवर्तनहरू संसद् भित्रैबाट अघि बढ्नुपर्ने धारणा राख्नुभयाे। ‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो,’ सांसद गैरेले भन्नुभयाे, ‘तर अहिले हामी उल्टो दिशामा गइरहेका छौँ। नीति निर्माणको थलोलाई निरन्तर आरोप–प्रत्यारोप र अवरोधले घेरेर जनताको हित हुँदैन।’
सांसद गैरेले सभामुखलाई लाञ्छित गर्ने, प्रधानमन्त्रीलाई आरोप लगाउने शैलीमा संसद् चलाउनु स्वस्थ अभ्यास नभएको बताउनुभयाे। संसद् सबैको साझा थलो भएकाले त्यसलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने सांसद गैरेलेको भनाइ छ।
सांसद गैरेले सदनमार्फत जनताका जीवनसँग जोडिएका विधेयकहरू अघि बढाउन ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभयाे। शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी सेवा विधेयक जस्ता महत्वपूर्ण विधेयकहरू सरोकारवालासँग प्रतिबद्धता जनाए पनि समयमै पास हुन नसकेको उहाँले स्मरण गराउनुभयाे। उहाँले अहिले आवश्यकता कार्यान्वयन हुने कानुन बनाउनु भएकाे बताउँदै संसद अवरोध गर्न नहुने बताउनुभयाे ।
सांसद गैरेले वातावरण परिवर्तनका असर र सामाजिक सुरक्षाजस्ता विषय संसदमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयाे। ‘वातावरण परिवर्तनले नेपालका हरेक क्षेत्र प्रभावित छन्, यसलाई सम्बोधन गर्न कानुनी संरचना आवश्यक छ, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफैँ वडा कार्यालय धाउनु पर्ने अवस्थाले समस्या थपिएको छ, यस्तो कार्य प्रणालीलाई कानुनीरूपमै सरल बनाउनुपर्छ’, उहाँले भन्नुभयाे ।
संसद जनताका प्रतिनिधिहरूको मञ्च भएकाले जनताका चासो र सरोकारका विषयमा ज्वलन्त छलफल हुनुपर्नेमा उहाँले जाेड दिनुभयाे। संसदको निरन्तर बहिष्कार, नाराबाजी र अवरोधले एक पक्षलाई दोषी ठहर गर्दै टाउकोमा दोष थोपरेर हिँड्दा समाधान नआउने भन्दै उहाँले सबै राजनीतिक दलहरूलाई जिम्मेवार हुन आह्वान गर्नुभयाे ।
सांसद गैरेले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन केही शक्ति लागिपरेको उल्लेख गर्दै गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बेला आएको बताउनुभयाे। ‘आज लोकतान्त्रिक व्यवस्थामाथि आघात गर्ने प्रयास भइरहेका छन्, सविधान कार्यान्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा अघि बढ्न सबै शक्ति एक ठाउँमा उभिनुपर्छ’, सांसद गैरेलेले भन्नुयाे।
नेपालप्रति निराशा फैलाउने, ‘नेपालमा केही छैन’ भन्ने भ्रम सिर्जना गरेर भोट खोज्ने प्रवृत्तिप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयाे। यस्ता भ्रम फैलाउने दुष्साहसले मुलुक र जनतालाई धोका दिने उहाँले बताउनुभयाे।







प्रतिक्रिया