अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयो- देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयो- देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिनुभएकाे छ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तानमा रहेका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिनुभएकाे हाे।

‘भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु। उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ। बधाई नानीबाबुहरु !’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।

प्रधानमन्त्री ओलीले विद्यार्थीहरुको मेहनत सफल भएको भन्दै अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न आह्वान गर्नुभएकाे छ।

 ‘तपाईहरुको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं। फेरि पनि बधाई सबैलाई।’ प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको हो। बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थीहरूको ननग्रेड आएको छ। गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।

कक्षा १२ को परीक्षा गत वैशाख २१ गते देखि सञ्चालन गरिएको थियो। परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए। त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए।