हेटौंडा-बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो उहाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।
कांग्रेस र एमालेका गरी ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा बानियाँलाई मुख्यमन्त्री बनाउन सोमबार दिउँसो प्रदेश प्रमुख देवकोटासमक्ष दाबी पेश गरिएको थियो।
११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन्। मुख्यमन्त्रीमा बानियाँको शपथग्रहण कार्यक्रम आजै दिउँसो ४:२० बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन्। बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन्।
मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् । संस्थापक मुख्यमन्त्री पौडेल पनि मकवानपुरबासी हुन् । पेसाले निर्माण व्यवसायी बानियाँ कम्युनिस्टहरूको गढ मानिएको मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुन् । उहाँ ४ मंसिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
बानियाँ २०७३ सालमै केन्द्र सरकारको गृह राज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन्। फागुन २०७३ सालमा गृह राज्यमन्त्री भएका उनी त्यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए। तत्कालीन सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको थियो।
२०७४ बाट संघीयता कार्यान्वयनमा गएसँगै तीन तहको सरकार गठन हुने भएपछि बानियाँ प्रदेशसभा निर्वाचन लडेका थिए । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल बन्न पुगेका थिए ।
प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुर सिंह लामालाई हटाएर आफैं बने । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।
९ साउन ०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मतविभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेपछि लामाले दल नेताको हैसियत गुमाएका थिए । गत १४ साउनमा दलको नेता चयनका लागि भएको निर्वाचनमा लामालाई हराएपछि बानियाँको मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।
कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराएका थिए । उनको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलबार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।







प्रतिक्रिया