अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमा लगानी गर्न दिन छिट्टै कानुन बनाउँछौँ: अर्थमन्त्री पौडेल

विदेशमा लगानी गर्न दिन छिट्टै कानुन बनाउँछौँ: अर्थमन्त्री पौडेल


काठमाडौँ-उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छिट्टै कानुन बनाएर नेपालीहरूलाई विदेशमा लगानी गर्न दिने बताउनु भएकाे छ। मंगलबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विदेशमा लगानी गर्न नेपालीले नपाउने अहिलेको कानुनलाई हटाइने स्पष्ट पार्नुभयाे।

बजेटमै नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइने व्यवस्था गर्ने घोषणा गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयाे । 

अर्थमन्त्री पौडेलले बजेटले प्रस्ताव गरेका व्यवस्थाहरूलाई कार्यान्वयन गर्न सरकार अघि बढिसकेको बताउनुभयाे। हाल विदेशमा लगानी गर्न प्रतिबन्ध ऐन, २०२१ को दफा ३ बमोजिम कसैले विदेशमा लगानी गर्न नपाउने व्यवस्था छ। त्यसलाई सरकारले संशोधन गर्न लागेको हो ।

अर्थमन्त्री पौडेलले भन्नुभयाे,‘नेपालीलाई विदेशमा लगानी खुल्ला गर्नका लागि  निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने कानुनी व्यवस्था गरिदैँछ। यस्तो व्यवसायबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने छ । विदेशमा गरिने लगानी स्वीकृतिको जिम्मेवारी लगानी बोर्डमा रहने व्यवस्था गरिने छ।’

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरू अहिले सबल नै रहेको संसद्लाई जानकारी दिनुभयाे।

अर्थमन्त्री पौडेलले बैक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामध्ये २०८२ जेठ मसान्तसम्म २० वटा क वर्गका वाणिज्य बैंकहरु, १७ ओटा ख वर्गका विकास बैंक, १७ वटा ग वर्गका वित्तीय कम्पनी, ५२ ओटा घ वर्गका लघुवित्त संस्था, १ पूर्वाधार विकास बैंक रहेको संसद्लाई जानकारी गराए । उनका अनुसार सञ्चालित केही वाणिज्य बैंकमा नेपाल सरकारको स्वामित्व छ। बैंक तथा वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्था ऐन अनुसार नै लेखापरीक्षण गरेका छन्।