काठमाडौं-सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका बालयौन दुराचारीलाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयाे ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए। घर आएका बेला गत वैशाखमा उनले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरे पनि उनी धरौटीमा छुटेका थिए।
कोइरालालाई सुनसरी जिल्ला अदालतले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो । बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला मङ्गलवार विराटनगरबाट पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।







प्रतिक्रिया