काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्ने सामर्थ्य एमालेसँग मात्र रहेको बताउनुभएको छ।
बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउन सक्ने सामर्थ्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो ।’
कार्यक्रममा महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेले गरेको दाबी गर्नुभयो। ‘मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा प्रत्येक गाउँ विकास समितिका लागि केन्द्रबाट बजेट विनियोजन हुने परम्परा सुरु भयो, त्यो रकम आज आएर ओली नेतृत्वको सरकारमा पालिकालाई कम्तीमा २५ करोड रुपैयाँ पुग्ने स्थिति आएको छ’, उहाँले भन्नुभयो ।

पोखरेलले अझै पनि अहिलेको विकास प्रक्रतिबाट सन्तुष्ट हुन नसकिने बताउँदै मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य भएको धारणा राख्नुभयो । ‘स्थायित्वका लागि राजनीतिक ध्रुवीकरण आवश्यक छ,’ उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीहरूको सहभागिता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिप्रति राज्य र समाजको दृष्टिकोण अझ सकारात्मक र समावेशी हुनुपर्ने बताउँदै उहाँले अपाङ्गता कुनै कमजोरी नभई प्राकृतिक वा मानवीय दुर्घटनाबाट सिर्जित बाध्यात्मक अवस्था भएको स्पष्ट गर्नुभयो ।
नवप्रवेशीहरूका तर्फबाट बोल्दै धनप्रसाद न्यौपानेले नेकपा एमालेमा समानता र न्यायको अपेक्षा राख्दै प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अपाङ्गता भएकालाई अन्य सपाङ्गसरह व्यवहार गर्ने, विभेद नगर्ने, सम्मानजनक जिम्मेवारी दिने पार्टीको प्रतिबद्धता देखिएकाले हामीले यो पार्टी रोजेका हौँ।’
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको अपाङ्ग परिषद्का केन्द्रीय सचिव धनप्रसाद न्यौपानेको नेतृत्वमा खास गरी कर्णाली र सुदूरपश्चिमका जुम्ला, जाजरकोट, रुकुम, मुगु र कैलाली जिल्लाबाट आएका नवप्रवेशीहरूलाई महासचिव पोखरेल, केन्द्रीय सदस्य नीरज आचार्य र रतननाथ योगीले पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीमध्ये अधिकांश अपाङ्गता भएका व्यक्ति, शहीद परिवारका सदस्य तथा जनयुद्ध–जनआन्दोलनमा सक्रिय कार्यकर्ता रहेका छन् ।







प्रतिक्रिया