काठमाडौं-निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि-२०८२’ को मस्यौदाप्रति नेकपा (एमाले)ले पनि असहमति जनाएको छ।
स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ।
आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि-२०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो।
‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो। नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ। राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भन्नुभयो।
सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको अहसमति रहेको उहाँले बताउनुभयो।
यसअघि प्रतिपक्षी दलहरूले पनि निर्वाचन आयोगले ल्याएको कार्यविधिको विरोध गरेका थिए। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बुधबार सिंहदरबारमा बसेको माओवादी, रास्वपा, राप्रपा, जनमतलगायत दलहरूको संयुक्त बैठकले कार्यविधिको विरोध गरेका थिए।







प्रतिक्रिया