काठमाडौं-नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिका रूपमा उद्घाटन गर्न औपचारिक अनुरोध गरेको हो।
प्रधानमन्त्री ओलीले नाडाको अनुरोध स्वीकार गरेको नाडाले विज्ञप्तिमार्फत जानकारी दिएको छ। प्रधानमन्त्री ओलीको उपस्थितिले अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा दिने नाडाको भनाइ छ।

अध्यक्ष चौधरीले नाडा स्थापनाको ५०औं वार्षिकोउत्सव मनाउने क्रममा रहेको र यस अवसरमा १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिनुभयाे । उहाँका अनुसार अटो शो मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्रान्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, र पहिलोपटक नेपालमा प्रदर्शन हुन लागेका अत्याधुनिक रोबोटसहित भविष्यमुखी प्रविधिहरू मुख्य आकर्षण रहनेछ।
भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया