राजविराज-सप्तरीमा भएको सवारी दुर्घटनामा आज एक युवकको मृत्यु भएको छ भने एक दम्पत्ति घाइते भएका छन्।
जिल्लाको शम्भुनाथ नगरपालिका–८ पोखरियास्थित भित्री सडकखण्डमा टेम्पु रिक्सा र मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ कनकपटी बस्ने अन्दाजी २४ वर्षीयका अजयकुमार चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । गम्भीर घाइते भएका उहाँलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा टेम्पु चालक शम्भुनाथ नगरपालिका–८ पोखरिया बस्ने ४५ वर्षीय मणिलाल मण्डल र उहाँकी ४० वर्षीया पत्नी आशादेवी मण्डल घाइते भएको प्रहरीको भनाइ छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु रिक्सा र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।






प्रतिक्रिया