अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ।

राष्ट्रिय सतर्कता केन्द्रको २४औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती नगरी जनतालाई सहज सेवा प्रवाहमा कुनै कमजोरी हुन नहुने बताउनुभयो।

सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, पारदर्शिता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्नेमा जोड दिनुभयो। भ्रष्ट आचरण भएका व्यक्ति छन्भने पदासीन भए पनि तिनले मनदेखि अरूको सम्मान नपाउने उहाँको भनाइ छ।

उहाँले संयुक्त राष्ट्रसङ्घको भनाइ उद्धृत गर्दै ‘कोही पनि पछि नपरून्’ (नो वान लेफ्ट बिहाइन्ड) भनेर मानिसका जैविक आवश्यकता परिपूर्ति र सम्मानित एवं सुरक्षित जीवनयापनका लागि दृढ सङ्कल्प गर्न आग्रह गर्नुभयो।

‘नेपाललाई विकसित मुलुकमा रुपान्तरणका लागि हामीले सुशासनको दृढ सङ्कल्प लिएर दौडन आवश्यक छ। अहिले असन्तुष्टि भड्काएर अराजकता मच्चाउन खोजिएको छ। त्यसबाट बच्न हामीले मानिसलाई ज्ञानसँगै राम्रो कामका लागि सचेतना गराउनुपर्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्राकृतिक रुपमा उर्वर र ज्ञानको उद्भवभूमि नेपाल विकासमा पछाडि पर्नुपर्ने कुनै कारण छैन। अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ। त्यस क्रममा सतर्कता केन्द्रले सक्रिय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु।’