अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अहिले केपी ओलीको विकल्प खोज्ने बेला भएको छैनः शंकर पोखरेल

अहिले केपी ओलीको विकल्प खोज्ने बेला भएको छैनः शंकर पोखरेल


धनकुटा-नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओलीको विकल्प खोज्ने बेला अहिले नभएको बताउनुभएको छ।

नेकपा एमाले कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई मंगलबार धनकुटाको हिलेमा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।

संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको महासचिव पोखरेलले बताउनु भयो।

नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र केपी ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फी प्रहार भएको बताउनुहुँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खास गरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरू ओलीका विरुद्ध लागेको उहाँको भनाइ थियो।

‘पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा आए भन्नु भएको छ। तर एमालेले मिल्दैन भनिसकेको छ। यस्ता बहसको विषयले पूर्व राष्टपतिको गरिमा र मर्यादामा असर गर्छ, यो विषय उहाँका लागि होइन भन्ने बुझ्नु पर्दछ, ‘महासचिव पोखरेलले भन्नुभयो। 

महासचिव पोखरेलले भन्नुभयो, ‘उहाँ (विद्या) भूपू भए पनि अहिलेसम्म नेपाली सेनाले सुरक्षा दिइरहेको छ। हाम्रो अभ्यासले के बताउछ हाम्रो संविधानले के भन्छ भन्ने कुरा वहाँ जतिको व्यक्तित्वले बुझ्नुपर्छ।’

महासचिव पोखरेलले पार्टी सदस्यता नविकरणको विषयबारे उहाँ (पूर्व राष्ट्रपति विद्या भण्डारी)ले  आफैले बाहिर ल्याएर विवादित बनाउन खोजिएको आरोप लगाउनु भयो। महासचिव पोखरेलले भन्नुभयो, ‘उहाँको पार्टी सदस्यता नविकरणको विषय बाहिर ल्याउने विषय थिएन। २०८२ असार १४ गते उहाँ आफैंले बाहिर ल्याउनुभयो। विधान महाधिवेशनलाई विवादित बनाउन खोजियो। तर विधान महाधिवेशनलाई नीति-निर्माण, विधि निर्माणमा केन्द्रीत गर्न चाहान्छौं नेतृत्व निर्माण गर्ने विषय त राष्ट्रिय महाधिवेशनको विषय थियो।’

विधान, उमेर हद र कार्यकालको विषयलाई अन्यथा लाग्ने गरी चर्चा गरिएको उहाँले बताउनुभयो। महासचिव पोखरेलले भन्नुभयो, ‘विधान, उमेर हद र कार्यकालको विषयलाई अन्यथा लाग्ने गरी चर्चा गरिएपछि पार्टी नेतृत्वले स्पष्ट पार्नु नै पथ्र्यो र पार्टीको सचिवालय, पदाधिकारी र केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ जुन बाह्रौँ अन्तरपार्टी निर्देशनमा आइसकको छ। यो फैसला आग्रहपूर्वाग्रह होइन। यो लोकतन्त्रको पद्धती स्थापित गर्ने विषय हो।’

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम प्रदेशभरीबाट केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्जहरु, जिल्लाका अध्यक्षहरु सहभागी रहनुभएको छ । बैठक बुधबारसम्म चल्ने एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले बताउनुभयो । बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने सुझावहरु संकलन गर्ने छ । एमालेभीत्र उत्पन्न बहसका सन्दर्भमा समेत सबैलाई आफ्ना धारणा राख्नदिने गरी बैठक दुईदिन गरिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो ।