काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस-नेकपा एमालेसहितको गठबन्धन सरकार ०८४ सालको निर्वाचनसम्मै जाने बताउनुभएको छ।
बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।
बैठकमा प्रधानमन्त्री ओलीले अस्थिरताको जतिसुकै चाहना राखे पनि त्यो सफल नहुने बताउनुभयो ।
‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहने जस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन,’ ओलीले भन्नुभयो, ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ।’

राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो।’
बैठकमा प्रधानमन्त्री ओलीले एक व्यक्तिमाथि प्रतिशोध साधिएको हो भने अरू कानुन अनुसार थुनामा गएका हुन् भन्ने प्रश्न पनि गर्नुभयो।
प्रधानमन्त्री ओलीले भिजिट भिसामा गएर फर्किएकाले अर्कालाई भिजिट भिसामा गए भन्दै प्रश्न गरिरहेको बताउनुभयो प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो, ‘भिजिट भिसामा विदेश गएर उतै बसी उतैको नागरिक बन्दै नेपाल फर्केर नयाँ नागरिकता नलिई सांसद र मन्त्री बनेकाले अरूलाई आरोप लगाउन मिल्छ ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर आरोप लगाएको बारे प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो। ‘आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन्। देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नुपर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? पोजिसनका हिसावले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !’
सहकारीमा गरेको बचत हिनामिना गर्न सयौँ व्यक्तिमाथि मुद्दा चलेको तर रवि लामिछानेमाथि मात्रै प्रतिशोध साँधिएको भन्ने भाष्य बनाइएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभयो।
‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ। अदालतले मुद्दा हेरिरहेको छ। पूर्वमन्त्री, पूर्वसांसद्, वहालवाला मेयर लगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ। एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो रु त्यो चाहिँ कानुनी कारवाही हो रु अर्बौं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौं मध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो रु कुनकुन व्यक्तिमाथिको थुना जायज हो ? भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने छ। त्यस्ताका पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि छ।’
देश र जनताको हितमा केन्द्रित बहस गर्नुपर्नेमा सोसल मिडियालाई कन्टेन्ट दिने काम मात्रै भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
यस्तो छ प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनको पूर्णपाठ







प्रतिक्रिया