अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव: मुख्यमन्त्री कार्की

राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव: मुख्यमन्त्री कार्की


विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताउनुभएको छ।

आज विराटनगर स्थित राधाकृष्ण मन्दिरमा रथयात्राको विषयमा छलफल गर्न र निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री कार्कीले यो हाम्रो प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो।

यस वर्षदेखि नयाँ स्वरूपमा निर्माण गरिएको रथ अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले पुरानो रथलाई संरक्षण गरेर मन्दिर परिसरभित्रै राख्न आग्रह गर्नुभयो। रथ यात्रालाई भव्य रुपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई निर्देशन गरिसकेको र हेलिकप्टरबाट पुष्प वृष्टि गर्नका लागि नेपाली सेनासँग आग्रह गरिएको मुख्यमन्त्री कार्कीले बताउनुभयो।

मुख्यमन्त्री कार्कीले आगामी दिनमा तीन महिना अगाडि नै छिमेकी राष्ट्र भारतका मुख्यमन्त्रीहरूलाई निमन्त्रणा दिएर उहाँहरुलाई रथयात्रामा आतिथ्यता गराउने गरी तयारी गर्नका लागि पनि समितिका पदाधिकारीहरूलाई आग्रह गर्नुभयो। राधाकृष्ण रथयात्रा समारोह समितिका  संयोजक कैलाश रेग्मी र सदस्यहरू नन्दकिशोर राठी,  कृष्ण कार्कीले रथयात्राको तयारीका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो। 

श्रीकृष्ण अष्टमीको भोलिपल्ट विराटनगरमा नेपालको सबैभन्दा ठूलो र एसियाकै दोस्रो ठूलो रथयात्रा निकालिने गरिएको छ। यो रथयात्रामा सहभागी हुन भारत तथा नेपालका भक्तजनहरू आउने गरेका छन्।