अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषिलाई पर्यटनसँग जोड्न सके देश संवृद्ध हुन्छ: महासचिव पोखरेल

कृषिलाई पर्यटनसँग जोड्न सके देश संवृद्ध हुन्छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनस्तर उठाउने कुरा प्रमुख विषय भएको बताउनु भएको छ।

राष्ट्रिय सुरक्षा केन्द्र तथा वैदेशिक अध्ययन केन्द्रको व्यवस्थापन र नेपाल बौद्धिक परिषद्को आयोजनामा शनिबार काठमाडौंमा भएको ‘सांस्कृतिक कूटनीति: नेपालको विश्व पहिचान प्रवर्द्धन’  विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सम्पदा क्षेत्रको विकासको लागि जनताको जीवनस्तर उठाउनु मुख्य चिज रहेको बताउनुभयो। ‘विकासको जग भनेको जनताको जीवनस्तर उठाउने नै रहेछ, अभाव र गरिबीमा रहेका जनताका बिचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्न सकिँदैन, जीवनस्तर उठाउनको लागि सम्पदाहरूले पनि योगदान गर्दछन्, मुख्य कुरा जीवनस्तर उठाउने कुरासँग जोडिन्छ’, महासचिव पोखरेलले भन्नुभयो ।

महासचिव पोखरेलले जीवनस्तर उठाउनको लागि नेपालमा सबैभदा प्रमुख पक्ष कृषिको रूपान्तरण भएको उहाँले बताउनुभयो। नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नु पर्ने उहाँको धारणा छ। ‘नेपालको समृद्धिको दिगो आधार पर्यटन हो भन्ने कुरालाई बुझेर यसलाई कृषिसँग जोड्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले कुनै पनि क्षेत्रको विकासको लागि कस्तो रणनीति बनाएर अघि बढिन्छ भन्ने कुरा प्रमुख हुने बताउनुभयो । त्यो ठाउँको बारेमा बुझेका त्यहीँका मानिसहरूको सक्रियताबाट मात्र विकास सम्भव हुने उहाँको धारणा छ। ‘कुनै पनि क्षेत्रका विकास गर्दछौँ भने हामीले त्यस क्षेत्रका बारेमा बताउन सक्ने जनशक्ति उत्पादन गर्न सक्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।

पर्यटकहरूलाई घुम्ने र रमाउने वातावरण बनाउनको लागि पनि गम्भीर भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो। उनीहरूको बसाई लम्याउन सक्दा मात्र पर्यटन र अर्थतन्त्रको विकास गर्ने सक्ने महासचिव पोखरेलको भनाइ छ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नु पर्ने उहाँको धारणा छ। धर्म र संस्कृतिका ज्ञाताहरूलाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने पोखरेलले बताउनुभयो।

पछिल्लो समय बुद्ध दर्शनलाई संसारले शान्तिको प्रतिकका रूपमा लिने गरेको उहाँले बताउनुभयो। त्यसको नेपालले उपयोग गर्ने सक्ने उहाँको धारणा छ।

नेपालमा भविष्यका पर्यटन गन्तव्यको क्षेत्र कर्णाली बन्न सक्ने उहाँको धारणा छ। प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्ने महासचिव पोखरेलले बताउनुभयो।