अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्थिरताका रोगीहरु सरकार ढल्ने हल्ला चलाउछन् : महासचिव पोखरेल

अस्थिरताका रोगीहरु सरकार ढल्ने हल्ला चलाउछन् : महासचिव पोखरेल



महेन्द्रनगर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरुले सरकार ढल्ने हल्ला चलाउने गरेको बताउनुभएको छ । उहाँले नेकपा एमाले र नेपाली काँग्रेसबीचमा उच्च स्तरको सहमति सहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरु छट्पटिएको बताउनुभयो ।
सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाच्नसम्म नै यो सरकार निरन्तर रहने बताउनुभयो ।
उहाँले यसका लागि संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्न समेत आग्रह गर्नुभएको छ । महासचिव पोखरेलले सरकार आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला चलाउने अस्थिरताका लागि विचित्रको रोग लागेको बताउनुभयो । ‘दुई ठुला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ,’ उनले भने, ‘तर अस्थिरताको रोग लागेकाहरू सरकार आज ढल्छ, भोली ढल्छ भन्दै हल्ला चलाइरहेका छन् । उनीहरु अस्थिरताका रोगी हुन् ।’
कांग्रेस र एमाले बीचको गठबन्धन आगामी निर्वाचन सम्म नै जाने उहाँले बताउनुभयो । कांग्रेस नेता शेखर कोइरालालाई लक्षित गर्दै महासचिव पोखरलले एकातिर सत्तामा हिस्सेदारी खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्दै हिँड्नु अनैतिक भएको बताउनुभयो।
सरकारले सूचनाको हक कुण्ठित हुने कुनै पनि खालको कानुन नल्याउने् महासचिव पोखरेल स्पष्ट पार्नु भएको छ । उहाँले सञ्चार क्षेत्रलाई व्यवस्थित र सुरक्षित गर्न मिडिया काउन्सिल विधेयक ल्याइन लागेका बताउनुभयो । ‘संसद्ले सूचनाको हक कुण्ठित हुने कुनै कानुन बनाउँदैन, हामीले यही विश्वास गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा पोखरेलले भन्नुभयो, ‘अहिले स्वतन्त्रताका नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो, संविधानसँग बाझिने कुनै कानुन बन्दैन ।’
‘सरकारमा सहभागी भएपछि जस अपजसको भागिदार हुनुपर्छ, तर सरकारमा हिस्सा पनि खोज्ने अनि विरोध पनि गर्दै जाने, यो नैतिकता होइन,’ उहाँले भन्नुभयो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने धारणा राख्नुभयो।
‘हामीले पूर्व राष्ट्रपति सम्मानित भूमिकामा रहनुपर्छ भनेका हौँ, त्यसो भइसकेपछि सदस्यताका विषयमा कुनै विवाद नै रहेन,’ उहाँले भन्नुभयो, ‘यो लोकतन्त्रको मूल्य मान्यतासँग जोडिन्छ, व्यक्तिसँग जोडन आवश्यक छैन ।’