आज म विश्वका सबैभन्दा चर्चित दुई पात्रको शिखर वार्ताबारे आफ्ना विचार राख्छु।
विश्वको एक नम्बर चर्चित मानिस डोनाल्ड ट्रम्प हो। ट्रम्प जति चर्चित र विवादास्पद मानिस अहिले विश्वमा कोही छैन भन्ने मलाई लाग्छ। तपाईंहरुलाई चाहिँ कस्तो लाग्छ ?
सबैभन्दा चर्चित ट्रम्प नै हुन्, त्यसपछि अर्का चर्चित भ्लादमिर पुटिन हो भन्नेमा पनि कुनै विवाद नहोला। अमेरिकाको अलास्का राज्यमा यी दुई नेताको शिखर सम्मेलन सम्पन्न भएको छ। यो शिखर सम्मेलनले देखिने गरी कुनै ठोस उपलब्धी गरेको छैन, कुनै ठोस सहमति पनि भएको छैन। तैपनि यो शिखर सम्मेलनले विश्व राजनीतिमा ठूलो प्रभाव पार्ने देखिन्छ।
यो शिखर सम्मेलनको म अलिकति चर्चा गर्छु। त्यसपछि त्यसले नेपालमा पार्ने प्रभावको बारेमा पनि चर्चा गर्छु।
सन् १९९१ मा सोभियत संघ विघटन भयो। सोभियत संघको विराशत बोकेको रुसलाई विश्व शक्ति मान्ने कि नमान्ने भनेर धेरैमा द्धिविधा थियो। हिजो सोभियत संघले जुन शक्ति आर्जन गरेको थियो, त्यस्तै शक्ति रुसले आर्जन गर्न सक्छ भनेर युरोपेली मुलुकहरु र अमेरिका चिन्तित देखिन्थे। रुसमा फेरि विश्व शक्ति बन्ने क्षमता उनीहरुले देखेका थिए। त्यसैले उनीहरुले जाग्दै गरेको रुसको बाटोमा तगारो लगाउन युक्रेनलाई उचाले। युक्रेनलाई नाटोको सदस्य बनाउने प्रयास गरे। त्यसपछि रुस युक्रेन युद्ध सुरु भयो। यो युद्धले अमेरिकालाई खासै क्षति भएको जस्तो मलाई लाग्दैन। रुसलाई पनि क्षति भएको छैन, बरु, आर्थिक रुपमा फाइदा नै भएको छ। तर, युरोपलाई भने ठूलो क्षति भएको छ।
रुस र युक्रेनको शक्तिको तुलना हुँदैन। विरालोले मुसा खेलाए जसरी रुसले युक्रेनलाई युद्ध मैदानमा खेलाइरहेको छ। रुस त युक्रेनसँग युद्ध भइरहेको समेत मान्दैन, उसले सामान्य सैन्य कारवाही भन्ने गरेको छ।
यो शिखर वार्ताले के स्थापित गर्यो भने सारा विश्व समुदाय रुसलाई विश्व शक्ति मान्न वाध्य भएको छ। रुस विश्व शक्ति थियो, विश्व शक्तिका रुपमा रहेको छ र विश्व शक्तिकै रुपमा अरु लामो समय रहने देखियो। अलास्का शिखर वार्ताले दिएको मुख्य सन्देश के हो भने रुसलाई विश्व शक्ति मान्न, आफू हाराहारीको शक्ति मान्न अमेरिका वाध्य भएको छ। सोभियत संघ विघटनपछि विश्व एक ध्रुवीय बनेको थियो।अब विश्व एक ध्रुवीय रहेन, सोझो या घुमाउरो पाराले यो कुरा स्वीकार गर्न अलास्का शिखर वैठकपछि अमेरिका वाध्य भएको छ।
अलास्का शिखर वैठक र त्यसको सेरोफेरोलाई ध्यानमा राख्दा अहिले विश्वमा कूटनीति थोरै, कुटिल नीति धेरै भइरहेको देखिन्छ। अलास्का वैठकलाई पनि मैले कुटिल नीतिकै रुपमा बुझेको छु।
रमाइलो के लाग्छ भने रुसी राष्ट्रपति पुटिनलाई अन्तराष्टिय फौजदारी अदालतले पक्राउ आदेश जारी गरेको छ। त्यो फौजदारी अदालतमा भित्री खटनपटन अमेरिकाको चल्छ। र त्यो अमेरिकामा पुटिन पुगेका छन्। पुटिन र रुसका लागि यो सानो उपलब्धी होइन।
अलास्का शिखर वार्ताले रुस युक्रेन युद्ध समाप्तिका लागि कुनै निर्णय गर्न सकेन। मैले त कुनै निर्णय गर्ला भन्ने आशा पनि गरेका थिइनँ। बरु मलाई डर लागेको थियो। डर के भने सनकी राष्टपतिका रुपमा कहलिएका ट्रम्पले पुटिनलाई कुनै दुव्र्यवहार गर्ने अनि विश्वको शान्तिमा थप खतरा पैदा हुने डर लागेको थियो। ट्रम्प शालिन र सभ्य रुपमा प्रस्तुत भएको देख्दा मलाई रमाइलो लाग्यो। अन्य देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग मात्तिएको राँगा जसरी प्रस्तुत हुने ट्रम्पलाई शालिन र सभ्य रुपमा प्रस्तुत भएको देख्दा अचम्मै लाग्यो। शायद तपाईंहरुलाई पनि अचम्म लाग्यो होला।
विश्व एकातिर तेस्रो विश्वयुद्धको संघारमा भएको देखिन्छ भने अर्कातिर शान्तिको धिपधिप दियो पनि बलिरहेको देखिन्छ। अलास्का शिखर वार्तालाई मैले यही रुपमा बुझेको छु।
यो शिखर वार्ता तथा अहिले भइरहेको विश्वव्यापी तनावले नेपाललाई के असर गर्छ ? तपाईंहरुलाई यो विषयमा निकै गहिरो चासो हुनुपर्छ। तपाईंहरुको पनि आआफ्नै विचार होला। म आफ्नो विचार राख्छु।
मलाई के लाग्छ भने अहिले विश्वका साना तथा विपन्न देशहरु, खासगरी सामरिक रुपमा कमजोर देशहरु ठूलो तनावमा छन्, जोखिममा छन्। यो जोखिमबाट बच्न देशलाई परिपक्व नेता चाहिन्छ। हामी नेपाली भाग्यमानी छौं यो मामिलामा, परिपक्व राजनेता केपी शर्मा ओली अहिले प्रधानमन्त्री हुनुहुन्छ। विश्व राजनीतिलाई गहिरोसँग बुझ्ने क्षमता ओलीमा छ। युक्रेनका अपरिपक्व राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले त्यो देशलाई युद्धमा होमेर वरवाद बनाए। ठूलाठूला कुरा गर्ने, फुर्तिफार्ती लाउने, उडन्ते र उग्र कुरा गर्ने नेताले देशलाई भड्खालामा जाक्छन् भन्ने पाठ विश्व इतिहासले सिकाएको छ। कुनै पनि देशलाई परिपक्व, व्यवहारिक नेता चाहिन्छ। त्यस्तो नेताका रुपमा हामीले केपी ओलीलाई पाएका छौं।
म फेरि भन्छु, देश जोगाउने नेता केपी ओली हो, देश जोगाउन सक्ने नेता केपी ओली हो, देशको वर्तमानलाई मात्र होइन, देशको भविष्यलाई पनि केपी ओली चाहिएको छ।
नेपाललाई जोगाउने, आजको तनावपूर्ण विश्वमा नेपाललाई जोगाएर अगाडि बढाउने एउटा मन्त्र पनि छ। त्यो मन्त्र हो असंलग्न परराष्ट नीति। बहुध्रुवीय विश्वमा नेपाल जस्तो देशको सुरक्षा कवच असंलग्नताको नीति हो। हाम्रो संविधानले नै असंलग्न परराष्ट नीति भनेको छ। असंलग्नता र तटस्थ विदेश नीति अपनाउनु सजिलो काम होइन। यस्तो काम गर्न परिपक्व राजनेता चाहिन्छ।
यहाँनेर म के स्मरण गर्न चाहन्छु भ्लादमिर पुटिन करिब तीन दशकका अनुभवी हुनुहुन्छ। ट्रम्पसँग पनि दोस्रो कार्यकाल काम गरिरहेको अनुभवी हो। उता अर्काे विश्वशक्ति चीनसँग पनि सी चिन फिङजस्तो अनुभवी नेता हुनुहुन्छ। विश्व राजनीति यस्ता घाघ, अनुभवी र परिपक्व नेताहरुले चलाइरहेका छन्। यस्तो अवस्थामा कमजोर र अनुभव विहिन नेता भएको देश स्वत जोखिममा पर्छ। तर, नेपाल भने यो जोखिममा छैन। किनभने हामीसँग केपी ओली हुनुहुन्छ।
जबसम्म नेपालसँग केपी ओली हुनुहुन्छ तबसम्म विश्व राजनीतिमा आइरहने आँधी तुफानसँग नेपाल र नेपालीले डराउन पर्दैन। जबसम्म नेपालमा केपी ओली हुनुहुन्छ तबसम्म नेपालले विश्व शक्तिहरुसँग मात्र होइन क्षेत्रीय शक्तिहरुसँग पनि डराउन पर्दैन। नेपाल र नेपालीको स्वाभिमान जोगाउने, नेपालको प्रतिष्ठा बचाउने नेताका रुपमा हामीसँग केपी ओली हुनुहुन्छ। अहिलेको विश्व राजनीतिको अत्याशलाग्दो अवस्था र नेपालको परिस्थति देख्दा भन्नै पर्ने हुन्छ, देशलाई आज पनि केपी ओली चाहिन्छ, भोलि पनि केपी ओली चाहिन्छ, पर्सी पनि केपी ओली चाहिन्छ। त्यसैले म भन्छु, जय केपी ओली।







प्रतिक्रिया