काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मा बीच कार्यसम्पादन सम्झौता भएको छ।
मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरु प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिनुभयो। ‘सम्झौतामा मूलभूत लक्ष्यहरु समेटिएका छन्’ मन्त्री दाहालले भन्नुभयो, ‘प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्झौता गर्नुभएको छ, त्यही अनुसार आज मन्त्री र सचिव विच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ।’

गत आर्थिक वर्षमा सवैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरि काम गर्न उहाँले निर्देशन दिनुभयो। सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरि कार्यसम्पादन गर्न उहाँको निर्देशन छ।
यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोहि अनुसार लक्ष्य निर्धारण गरि कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो। सम्झौतामा उल्लेखित नतिजा सुचकहरु प्राप्त हुने गरि माईलस्टोन अनुसार काम गर्न उहाँले भन्नु भएको छ।
गत साउन २९ गते प्रधानमन्त्री र मन्त्रीहरु विच कार्यसम्पादन सम्झौता भएको थियो। सोहि अनुसार मन्त्री र सचिव विच सम्झौता भएको र अब सचिव तथा विभागीय प्रमुख एवम् महाशाखा प्रमुखहरु विच सम्झौता गरिने मन्त्रालयका सहसचिव बलराम रिजालले जानकारी दिनु भएको छ।








प्रतिक्रिया