अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आबद्ध हुन मिल्दैन: राजेन्द्र गौतम

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आबद्ध हुन मिल्दैन: राजेन्द्र गौतम


संखुवासभा-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले राष्ट्रपति भैसकेको व्यक्ति पार्टीको सदस्य भएर काम गर्न नमिल्ने बताउनु भएको छ।

राजनीति बाहेक सामाजिक सेवाको क्षेत्रमा लाग्न अनुरोध गर्दै नेता गौतमले पूर्व पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो गर्भिलो हैसियत नबिर्सन अनुरोध गर्नुभयो। भण्डारीको पार्टी सदस्यताबारे अन्तरपार्टी निर्देशनमै उल्लेख भएकाले यसबारे धेरै चर्चा गर्नु आवश्यक नरहेको उहाँले स्पष्ट पार्नुभयो। 

एमाले संखुवासभा जिल्ला कमिटीको छैंटौ पूर्ण बैठकमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गौतमले आसन्न विधान महाधिवेशनको सन्दर्भमा महत्वपूर्ण सुझावहरु दिन पनि आग्रह गर्नुभयो।

नेकपा एमालेको यही भदौ २० गतेबाट सुरु हुने विधान महाधिवशनमा सङ्खुवासभाबाट १४ जना प्रतिनिधि सहभागी हुनेछन्।

बैठकमा उपस्थित केन्द्रीय सदस्य तुलसी प्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिबेशनको उपलब्धीबारे प्रष्ट पार्नुभयो।

बैठकमा आफ्नो भनाई राख्दै कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी सदस्यता नवीकरण र बिस्तारलाई जोडदिन आग्रह गर्नुभयो। 

जिल्ला, पालिका र वडास्तरसम्म नवीकरणलाई ब्यापकता दिनु पर्नेमा जोड दिनुभयो। बैठकमा जिल्ला अध्यक्ष खड्ग बहादुर राईले १ करोड ७ लाख २७ हजार ५ सयको आर्थिक प्रतिवेदन र वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो।

मंगलबार सम्पन्न जिल्ला कमिटीको छैटौं पूर्ण बैठकमा प्रस्तुत भवन निर्माण सहितको कार्ययोजना सर्वसम्मतले पारित गरेको हो। कार्ययोजनमा २०८३ को असार भित्रमा करिब १ करोडको लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

भवन निर्माणका लागि पार्टी सदस्यहरुबाट सहयोग संकलन अभियान र देउसीभैलो समेत खेल्ने तयारी रहेको प्रचार बिभाग प्रमुख नविन दाहालले बताए । बैठकमा केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थीती रहेको थियो ।