अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेससँगको सम्बन्ध बारे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्नुहुन्छ : सत्तामा सहकार्य,मैदानमा प्रतिष्पर्धा

काँग्रेससँगको सम्बन्ध बारे एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्नुहुन्छ : सत्तामा सहकार्य,मैदानमा प्रतिष्पर्धा


काठमाडौं -नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले नेपाली काँग्रेससँग सत्तामा सहकार्य मैदानमा प्रतिष्पर्धाको सम्बन्ध रहेको बताउनुभएको छ ।
एमाले संखुवासभाको जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता गौतमले काँग्रेससँगको सहकार्य सबै ठाउँमा हो भनेर नबुझ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । ‘सत्तामा सहकार्य,सहमति,एकता’ गौतमले भन्नुभयो ‘मैदानमा चाँही प्रतिष्पर्धा छ ।’ गौतमले एमाले र काँग्रेसमा सबै खालको प्रतिष्पर्धा भएको बताउनुभयो । राजनीतिमा मात्र नभएर सामाजिक संघ संस्था देखि विद्यालय व्यवस्थापन समितीसँग प्रमुख प्रतिष्पर्धा काँग्रेससँग नै भइरहेको उहाँले बताउनुभयो ।
पार्टीले समाजवादलाई मुल गन्तव्य बनाएकोले त्यसमा पुग्नका लागि स्पष्ट दिशा निर्देश भएको,जनआधार बलियो भएको र निर्णायक पार्टी बनाउनु पर्ने जिम्मेवारी एमाले कार्यकर्ताहरुलाई रहेको गौतमले बताउनुभयो । तर संखुवासभामा पार्टी बिस्तारै खुम्चिदै गएकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो । ‘यत्रो महान जिम्मेवारी बोकेको पार्टी एमाले,यो बिस्तारै खुम्चिदै खुम्चिदै गएको जस्तो देखिन्छ । तथ्यांकले पनि यसै भन्छ’ गौतमले भन्नुभयो ‘सिंगो देशलाई हेर्दा गतवर्ष भन्दा एमालेका सदस्य १ लाखजना अर्थात २८ प्रतिशतले वृद्धि भए । तर जिल्लाको अवस्था हेर्दा हामी खुम्चिरहेका छौं । किन ? यसको जवाफ खोज्न ढिलाइ गर्नुहुदैन ।’
गौतमले एमालेका कार्यकर्ताहरु समाजका विभिन्न क्षेत्रमा स्थापित भए पनि कता कता जनतासँगको सम्बन्ध पातलिंदै गएको हो कि भन्ने भान परेको बताउनुभयो । उहाँले पार्टीलाई मजबुद बनाउनका लागि सबै नेता कार्यकर्ताले जनतासँगको सम्बन्धलाई थप बलियो बनाउनु पर्ने बताउनुभयो ।
पार्टीका प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले संखुवासभा आलोचनात्मक चेत बोकेको जिल्ला भए पनि पार्टी सदस्यताको अवस्थामा पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो । जिल्लामा २७ सय ९५ जना पार्टी सदस्य भए पनि ५सय जनाको नविकरण नभएको र २८३ जनाले नयाँ सदस्यता लिएको बताउनुभयो । ‘हरी नेपाल र चन्द्र पुरीहरुको रगत पोखिएको जिल्ला हो संखुवासभा । नेत्र गौतम र बासु शाक्यहरुले नेतृत्व गरेको जिल्ला हो संखुवासभा ’ खतिवडाले भन्नुभयो ‘यस्तो गौरव भएको संखुवासभामा एमाले कमजोर हुन मिल्दैन । यसमा सबै साथीहरुलाई गम्भिर हुन अनुरोध गर्दछु ।’