काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाउनु भएको छ।
बुधबारको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरूप्रति कटाक्ष गरेपछि एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाउनु भएको हो।
सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाउनुभयो। ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्’ उहाँको भनाइ थियो।
‘एमाले र नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई खाली काजगमा हस्ताक्षर गराएका छन् । हस्ताक्षर केका लागि गराइयो त ? यो किन त भन्दा उपसभामुखलाई अविश्वसाको प्रस्तावबाट हटाउनका निम्ति हो’, उहाँले भन्नुभयो, ‘बहुमत पुर्याएर आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्नको निम्ति उपसभामुखमाथि महाअभियोग लगाउने कुराहरु त्यहाँ चल्यो। सही गराउने कस्तो पार्टी, सांसदहरू कस्ता ? धिक्कार होस्।’
कार्कीको सो भनाइमा एमाले सांसद थापाले नियमापत्ति जनाउनुभयो। सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताउनुभयो। सांसद थापाले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) अनुसार नियमापत्ति गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण, अपमानपूर्ण, यो ढङ्गको अभिव्यक्तिलाई त्यो चेयरबाट निषेधित गरिनुपर्छ। माननीय सदस्यज्यूले कस्ता सदस्य, कस्ता कागजमा सही गराएको भन्ने ढंगका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको छ, यो रेकर्डबाट हटाउनुपर्छ।’







प्रतिक्रिया