अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय इलाममै कायम गरियोस्: सुहाङ नेम्वाङ

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय इलाममै कायम गरियोस्: सुहाङ नेम्वाङ


काठमाडौं-प्रतिनिधिसभामा नेकपा एमाले सांसद सुहाङ नेम्वाङले इलाम जिल्लाको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सारेर अन्य जिल्लामा पुर्‍याएकोप्रति आपत्ति जनाउनु भएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको बताउनुभयो।

सांसद नेम्वाङले कार्यालयलाई टाढा सारेर नभइ अझै नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो। ‘इलामको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई, इलामबाट सारेर अन्यत्र जिल्ला लागिएको छ। सो कार्यालयले इलाम, ताप्लेजुङ र पाँचथर– तीन जिल्लाका हजारौँ नागरिकलाई प्रत्यक्ष सेवा पुर्‍याउँदै आएको थियो,’ सांसद नेम्वाङले भन्नुभयो, ‘यस कार्यालयलाई हटाउने निर्णयले जनतालाई सहज सेवा पाउने पहुँच मात्र गुमाएको होइन, सम्पूर्ण सेवाप्रवाहलाई कमजोर बनाउने, खतरा बोकेको छ।’

सांसद नेम्वाङले यथाशिघ्र उक्त कार्यालय इलाममै कायम गर्न र विकल्प स्वरुप सेवायुक्त कार्यालय स्थापना गर्नुपर्ने बताउनुभयो। ‘सेवाप्रवाहलाई प्रभावकारी बनाउनु सुशासनको पहिलो आधार हो। यसलाई टाढा सारेर होइन, अझ नजिक ल्याएर जनताले सहजै सेवा पाउने अवस्था सिर्जना गर्नुपर्दछ,’ सांसद नेम्वाङले भन्नुभयो, ‘त्यसैले, म सम्बन्धित मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यथासिघ्र यो कार्यालय इलाममै कायम गरियोस्, वा यसको विकल्प स्वरूप, पूर्ण सेवायुक्त कार्यालय, त्यहीं स्थापना गरियोस्।’