काठमाडौं – पार्टीको विधान संसोधनका प्रस्तावलाई अन्तिम रुप दिन नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दोस्रो विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उहाँले बैठकमा महाधिवेशनमा पेस गर्ने विधान संशोधन प्रस्ताव प्रतिवेदनबारे छलफल गरिने जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्नुहुनेछ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई यही भदौ १० गतेसम्मको समयसीमा दिएको छ ।
कार्यालय सचिव डा अधिकारीले विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरिने र सो छलफलपछि पारित गरिने बताउनुभयो । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।
दोस्रो विधान महाधिवेशनमा दुई हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी दुई हजार ३९२ जनाको सहभागिता हुनेछ । एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ ।







प्रतिक्रिया