अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व कम्युनिस्ट आन्दोलनबारे एमाले नेता विष्णु रिजालकाे ५ प्रश्न

विश्व कम्युनिस्ट आन्दोलनबारे एमाले नेता विष्णु रिजालकाे ५ प्रश्न


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले लाओसमा सम्पन्न ‘मार्क्सवादी राजनीतिक दलहरूको शासकीय अनुभव’ विषयक बौद्धिक बहसमा सहभागी भएर नेपालको शासकीय अनुभव सुनाउनु भएको छ।

चीन, भियतनाम, लाओस र नेपाल गरी चार देशका कम्युनिष्ट विचार राख्ने एक सयजना प्राध्यापक, अध्येता र बुद्धिजीवीको सहभागिता रहेको कार्यक्रममा नेता रिजालले नेपालको अनुभव र परिस्थितिका बारेमा व्याख्या गर्नुका साथै विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्याबारे पाँच वटा प्रश्नहरू उठाउनु भएको छ।

चीनको क्वाङ्सी विश्वविद्यालयको स्कुल अफ मार्कसिजम् र लाओसको लाओ नेसनल युनिभर्सिटीको संयुक्त आयोजनामा २०८२ साउन ३१ देखि भदौ २ गतेसम्म लाओसको राजधानी भेन्टेइनमा भएको बौद्धिक बहसमा आफूले समाजवादले पनि आआफ्ना देशका विशेषताहरू अवलम्बन गर्नुपर्दोरहेछ भन्ने अनुभूतिका आधारमा नेकपा एमालेले आफ्नो लक्ष्यका रूपमा पहिलो पटक विधानमै ‘नेपाली विशेषता अनुरूपको समाजवाद’ उल्लेख गर्न लागेको सहभागीहरूलाई जानकारी गराएको बताउनुभयो।

‘विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको बेला जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद नामक जुन मौलिक कार्यक्रम अघि सारे, निःसन्देह एमालेको विस्तार, विकास र लोकप्रियताको आधार त्यही हो’, उहाँले भन्नुभयो।

प्रस्तुतिका क्रममा फलतः आज एमाले अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित रूपमा सरकारको नेतृत्व गरिरेको र एमाले लोकप्रिय जनमतका आधारमा पहिलो शक्तिका रूपमा स्थापित भएको जानकारी गराउनु भयो।

कम्युनिस्ट आन्दोलनमा क्रान्तिको एक मात्र मोडल नहुने र मार्कसवादले पनि सशस्त्र सङ्घर्ष क्रान्तिको एक मात्र मोडल हो नभनेको उल्लेख गर्दै केन्द्रीय सदस्य रिजालले शान्तिपूर्ण रूपमा जनताको मन जितेर पनि क्रान्तिलाई अघि बढाउन सकिन्छ भन्ने कुरालाई नेपालको अनुभव र सफलताले पुष्टी गरेको धारणा राख्नु भएको थियो ।

१. म यस महत्त्वपूर्ण गोष्ठीमा भाग लिन नेपालबाट यहाँ आउँदै गर्दा हाम्रो देशमा हाम्रो पार्टी नेकपा (एमाले) को विधान महाधिवेशनको तयारी चलिरहेको छ। हामीले आफ्नो विधानमै पहिलो पटक हाम्रो लक्ष्यका रूपमा ‘नेपाली विशेषता अनुरूपको समाजवाद‘ भनेर उल्लेख गर्दै छौँ। किनभने, समाजवादले पनि आआफ्ना देशका विशेषताहरू अवलम्बन गर्नुपर्दो रहेछ भन्ने अनुभूति हामीलाई भएको छ । चिनियाँ मित्रहरूले समाजवाद मात्र नभनेर चिनियाँ विशेषतासहितको समाजवाद यत्तिकै भन्नुभएको होइन । हामी पनि नेपाली विशेषता अनुरूपको समाजवाद निर्माण गर्न चाहन्छौँ ।

. कुनै पनि देशमा कम्युनिस्ट आन्दोलन कति लोकप्रिय र दीर्घजीवी हुन्छ भन्ने कुरा त्यस देशको भौतिक परिस्थितिले निर्धारण गर्दछ। जननेता मदन भण्डारीले विश्वमै कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको बेला जनताको बहुदलीय जनवाद नामक जुन मौलिक कार्यक्रम अघि सार्नुभयो, निःसन्देह नेकपा (एमाले) को विस्तार, विकास र लोकप्रियताको आधार त्यही हो । फलतः आज हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित रूपमा सरकारको नेतृत्व गरिरहनुभएको छ, नेकपा (एमाले) लोकप्रिय जनमतका आधारमा पहिलो शक्तिका रूपमा स्थापित छ।

३. चीन, भियतनाम र लाओसका पनि आआफ्ना मौलिक विशेषताहरू छन् र तिनै विशेषताहरूलाई राम्रोसँग ठम्याएर नेतृत्वले क्रान्ति अघि बढाएकाले यहाँ कम्युनिस्ट सत्ता स्थापना मात्र भएनन्, तिनले निरन्तर प्रगति गरिरहेका छन् । चीन आज विश्वका समाजवादीहरूका लागि आशा र भरोसाको केन्द्र बनिरहेको छ भने पुँजीवादीहरूका लागि टाउको दुखाइको मूल विषय बनेको छ।

४. कम्युनिस्ट आन्दोलनमा क्रान्तिको एक मात्र मोडल हुँदैन। सशस्त्र क्रान्ति हाम्रो बाध्यता हो। शान्तिपूर्ण रूपमा आफ्ना माग र मुद्दाहरू स्थापित गर्न अवरोध नहुँदासम्म रहरले कुनै कम्युनिस्टले पनि हतियार उठाउँदैन र उठाउनु हुँदैन। मार्क्सवादले पनि सशस्त्र सङ्घर्ष एक मात्र मोडल हो भनेको छैन । तर, जतिबेला कम्युनिस्टमाथि चरम दमन थियो, राज्यसत्ताप्रति क्रियावादीहरूको नियन्त्रणमा थियो, जनतामाथि चरम थिचोमिचो थियो, त्यति बेला सशस्त्र सङ्घर्ष एक मात्र विकल्प थियो । आज समय फेरिएको छ। नेपालको अनुभवले के भन्छ भने शान्तिपूर्ण रूपमा जनताको मन जितेर पनि क्रान्तिलाई अघि बढाउन सकिन्छ। जनताले साथ दिए भने कम्युनिस्टहरूलाई दुनियाँका कुनै पनि प्रतिक्रियावादी शक्तिहरूले चाहेर पनि दबाउन सक्दैनन्। नेपालमा हामीले नयाँ परीक्षण गरेका छौँ र सफलता पनि पाएका छौँ ।

५. हाम्रो मुख्य लक्ष्य जनताको जीवनस्तरमा परिवर्तन हो । परिवर्तन गर्‍यौँ भनेर हामीले भनेर हुँदैन, जनताले महसुस गर्नुपर्छ । जस्तो– चीनले एक अर्ब मानिसलाई गरिबीबाट मुक्त गरेको छ, भियतनामले आफूलाई बलियो राष्ट्रका रुपमामाथि उठाइरहेको छ, लाओसले चुनौतीहरूलाई परास्त गर्दै समाजवादतर्फको यात्रा अघि बढाएको छ । त्यसैले उनीहरूको अनुभव र दाबी अरूका लागि पनि प्रेरणादायी छ । यी सबै काम गरेर भएका हुन्, भनेर होइन । त्यसैले नेपालमा पनि हामीले गरेर देखाउने कामलाई अघि बढाउन समृद्ध नेपाल: सुखी नेपालीको अवधारणा अघि सारेका छौँ, जुन समाजवादतर्फको हाम्रो कार्यक्रम हो ।

उहाँले कार्यक्रममा छलफलका लागि भन्दै विश्व कम्युनिस्ट आन्दोलनबारे यी प्रश्न उठाउनु भयो।

१. आजको विश्व कम्युनिस्ट आन्दोलनको मूल प्रवृत्ति के हो– सशस्त्र कि शान्तिपूर्ण ?
२. यदि सशस्त्र क्रान्ति कम्युनिस्ट आन्दोलनको विश्वव्यापी मूल प्रवृत्ति हो भने सन् १९७५ मा लाओसपछिको आधा शताब्दीमा किन अर्को कुनै सशस्त्रक्रान्ति सफल भएको छैन ?
३. यदि शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति नै कम्युनिस्टहरूको अबको मूल प्रवृत्ति हो भने किन चुनावबाट पनि कम्युनिस्टहरूले नेपालगायत सीमित देश बाहेकमा सफलता हासिल गर्न सकिरहेका छैनन् ?
४. कम्युनिस्ट सिद्धान्त वैज्ञानिक, श्रमजीवी जनताको मुक्तिको वैचारिक अस्त्र र सर्वकालिक हुँदाहुँदै पनि यसको विश्वव्यापी लोकप्रियता किन घटिरहेको छ?
५. युगमा आएको परिवर्तन, प्रविधिमा भएको उन्नत विकास र नयाँ–नयाँ आविस्कारहले हाम्रो सिद्धान्तमा कस्तो प्रभाव पार्दछ ? र त्यसलाई हामीले कसरी क्रान्तिका पक्षमा उपयोग गर्न सक्छौँ ?अनि यसबाट सिर्जित नयाँ खालको विभेद, शोषण र साम्राज्यलाई हाम्रो सिद्धान्तले कसरी सम्बोधन गर्दछ ?