काठमाडौं-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को नतिजा आज सार्वजानिक गर्ने भएको छ। मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गरी लिसाको नतिजा सार्वजानिक गर्ने भएको हो।
उक्त अवसरमा लिसामा छनौट भएका पालिकाहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मान लिनका लागि छनोटमा परेका पालिकाहरुबाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरिएको छ ।
गत आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वस्मूल्यांकन (लिसा) र वित्तीय जोखिम मूल्यांकन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरी सर्वोकृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
गाउँपालिका÷नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य आ.व २०८१/०८२ मा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय श्रोतका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व.२०८०/०८१ को नतिजामा चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ। त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका दोश्रो तथा अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ। त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउँपालिका चौथो र धादिङकै बेनीघाट गाउँपालिका पाँचौ र गुल्मीको रुरुक्षेत्र गाउंपालिका छैटौ स्थानमा छनोट भएको छ।
उक्त अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजिपिएसको शुभारम्भ गर्ने कार्यक्रम समेत रहेको छ। विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग अलग मूल्यांकन गर्ने गरी कार्यविधि र प्रणालीहरु रहेकोमा चालु आर्थिक वर्षबाट तीनवटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रकृयामुखी सूचकहरुलाई परिमार्जन गरी व्यवहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासान कार्यसम्पादन प्रणाली (एलजिपिएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (एलजिपिएएस) को शुभारम्भ समेत गरिने भएको छ। मन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग अलग मूल्यांकन गर्ने गरी कार्यविधि र प्रणालीहरू रहेकामा चालु आर्थिक वर्षबाट तीनवटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रक्रियामुखी सूचकहरूलाई परिमार्जन गरी व्यावहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ।’







प्रतिक्रिया