कास्की-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोसल मिडियालाई सरकारले नियन्त्रण गर्न होइन नियमन गर्न खोजेको बताउनु भएको छ।
प्रेस चैतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले यस्तो बताउनु भएको हो।
‘सामाजिक सञ्जालमा देखिएको विकृति र विसङ्गतिलाई रोक्नको लागि सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन विधेयक ल्याउन खोजेको हो,’ मन्त्री गुरुङले भन्नुभयो, ‘सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न होइन, नियमन गर्न मात्र खोजेको छ।’
मन्त्री गुरुङले साइबर अपराध अहिलेको विश्वको नै चुनौतीका रुपमा देखिएको बताउँदै नेपालभित्र हुने साइबर अपराधलाई रोक्नका लागि सरकारले कानुन बनाउन लागेको बताउनुभयो।
मन्त्री गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कामलाई प्रभावकारी बनाउन मन्त्रालयसँग सम्बन्धित सबै कानुनलाई संशोधन गर्न लागिएको बताउनुभयो। ‘समय र परिस्थिति अनुसार कानुनलाई परिमार्जित गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘सञ्चार मन्त्रालयअन्तर्गतका सबै कानुलाई समयानुकूल परिमार्जित र संशोधन गरिनेछ।’
सङ्घीय संसद्की उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा सत्ता गठबन्धनमा सहमति नभएको मन्त्री गुरुङले बताउनु भयो। मन्त्री गुरुङले भन्नुभयो, ‘उपसभामुख हटाउने चर्चा भयो होला, तर सत्ता गठबन्धनमा सहमति भएको छैन।’
उपसभामुख हटाउने चर्चा चल्दैमा आकाशै खस्ने भो जसरी नलिन उहाँले आग्रह गर्नुभयो । उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी कांग्रेस र एमालेले गरे पनि अन्तिम समयमा पछि हटेको भन्ने समाचार आएका थिए ।







प्रतिक्रिया