अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री भण्डारीद्वारा दलित समुदायका सांसदहरुसँग शील्प उद्यम विकास कार्यक्रमबारे छलफल

मन्त्री भण्डारीद्वारा दलित समुदायका सांसदहरुसँग शील्प उद्यम विकास कार्यक्रमबारे छलफल



काठमाडौं -उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मन्त्रालयको महत्वपूर्ण कार्यक्रमका रूपमा रहेको भगत सर्वजीत शील्प उद्यम विकास कार्यक्रम कार्यान्वयनका विषयमा सांसदहरूसँग छलफल गर्नुभएको छ ।
दलित समुदायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका करिब एक दर्जन सांसद, योजना आयोगका प्रतिनिधि र निजी क्षेत्रका पदाधिकारीसँग गरिएको छलफलमा महत्वपूर्ण सुझावहरू प्राप्त भएका छन् ।
पेशागत विकासमार्फत दलित समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको उक्त कार्यक्रम कार्यान्वयनको मोडेलबारे छलफल गरिएको मन्त्री भण्डारीका प्रेस संयोजक सीपी लोहियाले जानकारी दिनुभयो ।
सांसदहरूले पहिलो पटक दलित समुदायका सम्पूर्ण सांसदलाई एउटै मञ्चमा बोलाएर छलफल आयोजना गरेकोमा मन्त्री भण्डारीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनीहरूले कार्यक्रमलाई प्रभावकारी बनाउन सुझावसमेत दिएका छन् ।
नेकपा एमाले सचिव छविलाल विश्वकर्माले दलित समुदायको आर्थिक आयआर्जन, शिक्षा, स्वास्थ्य र रोजगारीमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । परम्परागत सीपलाई आधुनिकीकरण गर्दै सीपमा युवालाई आकर्षित गर्नुपर्नेमा उहाँको जोड छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले दलित समुदायको आर्थिक उन्नति मात्र नभई सामाजिक न्यायलाई आधार बनाएर उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । वर्षौंदेखि अन्यायमा परेका समुदायलाई न्यायको प्रत्याभूति दिलाउने गरी उक्त कार्यक्रम अघि बढाउनुपर्नेमा उनको जोड छ । यो कार्यक्रमले समाजिक न्याय प्राप्तीको आशा जगाएको उहाँले बतानउनुभयो ।
छलफलमा सहभागी अन्य सांसद तथा सरोकारवालाले कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायलाई जोड दिनुपर्ने सुझाव दिनुभएको छ । मन्त्री भण्डारीले पनि निरन्तर सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यान्वयनका क्रममा आएका सुझावअनुसार आवश्यक परे थप बजेट विनियोजन गर्न सकिने पनि उहाँले बताउनुभयो ।
भगत सर्वजीत शील्प उद्यम विकास कार्यक्रम मार्फत दलित समुदायलाई उद्यमशीलता विकास तालिम, व्यवसाय व्यवस्थापन तालिम, प्रविधि स्तरोन्नति तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ । उत्पादनलाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न विशेष व्यवस्था हुने मन्त्रालयले जनाएको छ ।