अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्या भण्डारीको सदस्यता एमालेमा छैन, कांग्रेस या माओवादीले नवीकरण गर्छ ?

विद्या भण्डारीको सदस्यता एमालेमा छैन, कांग्रेस या माओवादीले नवीकरण गर्छ ?


नेकपा एमाले भित्र व्यापक विवाद छ ? एमाले फुट्न लागेको हो ? एमाले विद्यादेवी भण्डारीले कब्जा गर्न लागेको हो? अहिले सर्वसाधारणमा यस्तो प्रचार गरेर ठुलो भ्रम सिर्जना गर्न प्रयास गर्दैछन्।

अहिलेको वास्तविकता के हो ? यो बारेमा म आज तपाईंहरुलाई जानकारी दिन गइरहेको छु। एकदमै सत्य र तथ्यपूर्ण जानकारी दिन्छु। सत्य भन्दा दायाँबायाँ अलिकति पनि बताउँदिन। जो-जो भ्रममा हुनुहुन्छ- मेरो यो भिडियो हेरिसकेपछि तपाईँहरू पक्कै पनि छर्लङ हुनुहुनेछ। तपाईँहरूमा अलिकति पनि भ्रम बाँकी रहने छैन।

एमालेभित्रको वास्तविकता के हो भने एमालेभित्र विवाद छैन। एमालेभित्र सामान्य बहस छलफल भएको हो। त्यो बहस छलफललाई मिडियामा विवाद भनेर प्रचार गरियो। एमालेमा सियो खस्यो भने मिसाइल खस्यो भनेर प्रचार गर्नेहरू छन्। उनीहरूले एमालेभित्र विवाद छ भनेर प्रचार गरेका हुन्।

अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीको नाममा व्यापक प्रचार-प्रसार भइरहेको छ। एमालेले विद्या भण्डारीको पार्टी सदस्यता खोसेको प्रचार गरिरहेको छ। यसबारे तथ्य पार्टी अध्यक्ष केपी शर्मा ओलीले बारम्बार बताइसक्नुभएको छ। तथ्य यही हो- विद्या भण्डारीले सदस्यता त्याग्नुभएको थियो, त्यागेको सदस्यता नवीकरण हुँदैन, नयाँ सदस्यता लिनुपर्छ। विद्याको काँधको आडमा एमालेलाई गुलेली हान्नेहरूले यो जवाफ दिउन्, विद्याले एमालेको सदस्यताका लागि आवेदन दिनुभयो ?

एमालेलाई माया गर्छु, एमाले नै मेरो घर हो भन्ने विद्याको एमालेमा सदस्यता छैन। भण्डारीले नयाँ सदस्यताका लागि आवेदन दिएपछि एमालेले सदस्यता दिन्छ कि दिँदैन ? त्यसपछिको कुरा हो। म सोध्न चाहन्छु- आदरणीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, एमालेको सदस्य बन्न कहिले आवेदन दिनुहुन्छ ? कि आवेदन दिइसक्नुभयो ? जो मानिस एमालेको सदस्य छैन उसले एमाले फुटाउन कसरी सक्छ ? जो मानिस एमाले छैन, उसले सडकबाट धम्की दिएको भरमा एमाले कब्जा गर्न सक्छ र ?

म नेकपा एमालेको सदस्य हो, तर कांग्रेस, माओवादी या राप्रपाको सदस्य होइन। भोलि म कांग्रेस, माओवादी या राप्रपाको कार्यालयमा जान्छु, अनि भन्छु, मेरो सदस्यता नवीकरण गरिदेउ। उनीहरुले नवीकरण गर्न सक्छन् ? सदस्य नै नभएको मानिसको सदस्यता कसरी नवीकरण हुन्छ। विद्या हिजो एमालेमा हुनुहुन्थ्यो, त्यसैले एमालेलाई नवीकरण गर्न मागेको होला । भोलि विद्याले कांग्रेस या माओवादीमा गएर सदस्यता नवीकरण गरिदेउ भन्नुहोला, उनीहरुले नवीकरण गर्न सक्छन् ?

त्यसैले विद्यादेवी भण्डारीको सदस्यताको विवादलाई विवाद नै मान्न सकिन्न। यो शतप्रतिशत काल्पनिक विवाद हो। विद्याको सदस्यता सम्बन्धमा कुनै विवाद छैन। यदि यसलाई कसैले विवाद भन्छ भने काल्पनिक विवाद हो।

अब अर्का प्रश्नमा विचार गरौँ। विद्यालाई एमालेले सदस्यताबाट वञ्चित गर्‍यो भनिरहेका छन्। हरेक नेपाली नागरिकलाई कुनै पनि राजनीतिक दलको सदस्यता लिने हक छ। विद्यालाई पनि छ। उहाँ पूर्व राष्ट्रपति हुनुहुन्छ। पूर्व राष्ट्रपतिलाई सदस्यता दिने कि नदिने भन्ने पहिले सैद्धान्तिक निर्णय हुनुपर्छ। नेकपा एमालेले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन हुँदैन भनेर सैद्धान्तिक निर्णय गरिसकेको छ। त्यसैले विद्या भण्डारी मात्र होइन, भविष्यमा डा.रामवरण यादवले एमालेको सदस्यता माग्नुभयो भने पनि एमालेले विनम्रता पूर्वक अस्वीकार गर्दछ। राष्ट्रपति पदबाट हटेपछि रामचन्द्र पौडेलले एमालेको सदस्यता माग्नुभयो भने पनि एमालेले अस्वीकार गर्दछ।

तसर्थ, म के भन्छु भने एमालेले विद्यादेवी भण्डारीलाई सदस्यता नदिएको होइन। पूर्व राष्ट्रपति आफ्नो हैसियतमा बस्नुपर्छ, सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर एमालेले निर्णय लिएको हो। यो सैद्धान्तिक धरातलमा विद्याको सदस्यता अस्वीकृत हुन्छ। यसलाई विद्यादेवीको हक अधिकार छिनिएको रूपमा बुझ्नु मूर्खता हो। विद्यादेवीको हक अधिकार छिनिएको होइन कि बरु विद्यादेवीको सम्मानका रूपमा बुझ्नुपर्छ। गणतन्त्रलाई संस्थागत गर्नका लागि एमालेले गरेको निर्णयका रूपमा बुझ्नुपर्छ।

तैपनि विवाद त छ, ठूलो होहल्ला छ, एक तरिकाले भन्ने हो भने तहल्का मच्चिएको छ। यो किन ? यो पनि म बताउँछु।

यहाँ सवाल विद्यादेवी भण्डारीको होइन। एमालेलाई कसरी प्रहार गर्न सकिन्छ, कसरी फुटाउन र सिध्याउन सकिन्छ भनेर देशी-विदेशी धेरै शक्तिहरू न्वारानदेखिको बल लगाएर बसेका छन्। उनीहरूले हिजो भीम रावल भन्ने पात्र भेटे, उनै पात्रलाई उचाले, आज विद्यादेवीलाई भेटेका छन्, अब विद्यालाई नै उचाल्छन्। एमाले र केपी ओलीलाई प्रहार गर्न र सिद्ध्याउन उनीहरू विभिन्न पात्र र बहाना खोज्दै हिँडेका छन्। उनीहरूले अहिले विद्यादेवीलाई भेटे तर विद्यादेवी मार्फत गरिएको प्रहारलाई नेकपा एमालेका समस्त कार्यकर्ताहरूले असफल पारिदिए। हेरिरहनुहोला, विद्यादेवीलाई अगाडि सार्दा असफल भए पनि उनीहरू चुप बस्ने छैनन्, भोलि अर्का पात्र खडा गर्छन्, उनीहरूले पात्र आविष्कार गर्छन्, विवाद आविष्कार गर्छन्।

उनीहरूलाई एमाले निध्याएर मात्र पुग्दैन, जनताको बहुदलीय जनवाद र त्यसको विकासलाई पनि समाप्त पार्नु परेको छ। हामी सबैलाई थाहा छ, कुनै पनि विचारले सदासर्वदा काम गर्दैन। धर्ममा विचारको संशोधन हुँदैन। जस्तो कि गीता, बाइबल, मुन्धुम, त्रिपिटक संशोधन हुँदैन, परिमार्जन हुँदैन। तर, राजनीतिक वाद र विचार परिमार्जन भइरहन्छ, त्यसको विकास भइरहन्छ। कुनै पनि राजनीतिक वाद र विचार अन्तिम सत्य हुँदैन। कसैले यो विचार अन्तिम सत्य हो, यसमा संशोधन, परिमार्जन परिष्कार आवश्यक छैन भन्छ भने त्यस्तो पार्टी समाप्त हुन्छ। विश्वभरिका कम्युनिष्टहरुले बोकेको विचार असफल भयो, हामीले जनताको बहुदलीय जनवाद भन्ने नयाँ विचार ल्यायौं। जबज मात्र बोकेर पुग्दैन भन्ने हामी सबैलाई लागेको हो। किनभने युग र समय परिवर्तन भइसक्यो, जबजको जगमा हामीले नयाँ विचार दिनै पर्ने हुन्छ। अहिले हाम्रो पार्टीले जबजको जगमा उभिएर विकास र समृद्धिको विचारलाई विकास गरिरहेको छ। यो विचारका विचारक केपी ओली हुनुहुन्छ।

एमाले जबजभन्दा माथि उठ्न नसकोस् भनेर ठूलो प्रयास गरिरहेका छन्। हिजो जबजको विरोध गर्नेहरू आज जबजलाई अलिकति पनि चलाउन पाइँदैन भनिरहेका छन्। जबजलाई धर्मशास्त्र जस्तो भनिरहेका छन्। तर, एमालेले बुझिसकेको छ, नयाँ युग, नयाँ परिवेश र नयाँ पुस्तालाई सम्बोधन गर्न जबजको जगमा नयाँ र उन्नत विचार चाहिन्छ। नयाँ र उन्नत विचारका रूपमा हामीले विकास र समृद्धिको दर्शन पाएका छौं। विकास र समृद्धि नै अबको नेपालको मूल मन्त्र हो , विकास र समृद्धि नै एमालेको मूल मन्त्र हुनुपर्छ। विकास र समृद्धिको दर्शन विचारका सारथि केपी ओली हो । त्यसैले केपी ओलीमाथि प्रहार भइरहेको छ।

एमालेले देश, गणतन्त्र, समाज, देशको भविष्य केही पनि विचार नगरी, पार्टीको विधानलाई लत्त्याउँदै विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरिदिएको थियो भने के हुन्थ्यो ? अहिले विद्यादेवी जिन्दाबाद भन्दै हिँडिरहेको जत्थाले नै सबैभन्दा पहिले विरोध गर्ने थियो। पूर्व राष्टपतिलाई किन सदस्यता दिएको भन्दै उनीहरूले विरोधमा चर्को आवाज निकाल्थे । विद्यादेवीलाई सदस्यता नदिँदा उनीहरू नै किन सदस्यता नदिएको भन्दै विरोध गरिरहेका छन्। यो तथ्यलाई सबैले मनन गर्नुपर्छ।

एक छिनका लागि कल्पना गरौं, विद्यादेवीले सदस्यता पाउनुभयो। उहाँ नै एमालेको अध्यक्ष हुनुभयो। त्यसपछि के हुन्छ ? केपी ओलीजस्तो दूरदर्शी र देशकै सबैभन्दा सक्षम नेताले हाँकिरहेको पार्टी विद्याजस्तो अपरिपक्वको हातमा पर्‍यो भने एमाले समाप्त हुन्छ। २०८४ को चुनावमा एमालेले दुर्दशा भोग्नपर्छ। एमालेको अध्यक्षबाट केपी ओलीलाई हटाउन पाए २०८४ को चुनावमा एमालेलाई पराजित गर्न सकिन्थ्यो भनेर विभिन्न शक्तिहरूले जालो बुन्दै आएका छन्।

मेरो भनाईको मतलब के हो भने उनीहरुले विद्यादेवीलाई माया गरेर, उहाँ मन परेर उचालेका होइन्, केपी ओलीलाई हटाउन, लखेट्न सकिन्छ कि भनेर विद्यालाई उचालेका हुन्।

अब अर्को प्रश्नमा विचार गरौं, एमाले फुट्न लागेको हो ? एमालेलाई धेरैले धेरै पटक धेरैखाले शक्तिहरूले मनमनै फुटाइसकेका छन्। एमालेमा हुँदै नभएको विवादलाई आकाश खस्न लागेको जसरी प्रचार गर्छन्। अनि त्यही कथित विवादले एमाले फुट्ने भो भनेर प्रचार गर्छन्। एमाले भनेको लाखौँ कार्यकर्ता भएको पार्टी हो। यहाँ भित्र विभिन्न किसिमका मत हुन्छन्। तर, केही विषयमा भने एमालेमा अलिकति पनि विवाद छैन। जस्तो कि अबको एमालेको विचार भनेको बहुदलीय जनवादमा टेकेर विकास र समृद्धिमा अघि बढ्ने हो। यो विषयमा एमालेमा कुनै विवाद छैन। देशका लागि र एमालेका लागि केपी शर्मा ओली अपरिहार्य नेतृत्व हो। यो विषयमा कुनै विवाद छैन। अहिलेका लागि केपी ओली निर्विकल्प हो, यो विषयमा विवाद छैन। पार्टी फुट्ने यस्तै विषयले हो। यस्ता विषयमा कुनै विवाद छैन। अनि कसरी फुट्छ एमाले?

एमाले फुटेको सपना देख्नेहरुलाई म सपनामै रमाउएर बसिरहन विशेष अनुरोध गर्दछु। विद्या भण्डारीलाई अगाडि सारेर एमाले कब्जा गर्न सकिन्छ अथवा डा.रामवरण यादवलाई अगाडि सारेर कांग्रेस कब्जा गर्न सकिन्छ भन्ने खालका सपना देख्नेहरुलाई मेरो विनम्र अनुरोध के छ भने तपाईंहरु आफ्नै सपनाको मलामी गए हुन्छ।