काठमाडौं – देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मध्यम वर्षाको सम्भावना रहे पनि भारी वर्षा नहुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलिबाट भने देशका केही स्थानमा भारी वर्षा हुनेछ ।
विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौंमा आज अपराह्नपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
“आज देशभर कतै पनि भारी वर्षाको सम्भावना छैन । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा छ । न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा भएपछि जलवाष्पयुक्त हावा पनि कम आउँछ । त्यसैले ठूलो वर्षा हुँदैन,” मौसमविद् गोविन्द झाले भन्नुभयो, “न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणतर्फ हुँदा भारतमा ठूलो वर्षा हुन्छ ।”
न्यूनचापीय रेखा भोलिबाट पुनः उत्तरतर्फ सर्ने सम्भावना रहेको उनले जानकारी दिए । “न्यूनचापीय रेखा भोलिबाट नेपालतर्फ सर्ने देखिन्छ । त्यसैले हिजो र आजको तुलनामा भोलिबाट वर्षाले पिकअप लिन्छ,” झाले भन्नुभयो, “भोलि र पर्सि देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । देशैभर भारी वर्षा त हुने होइन तर केही स्थानमा भारी वर्षा हुनेछ ।”
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया