अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्नातक तहका प्राविधिक र सूचना प्रविधि कक्षा सञ्चालन गर्ने गौरीगंज-लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता

स्नातक तहका प्राविधिक र सूचना प्रविधि कक्षा सञ्चालन गर्ने गौरीगंज-लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता


गौरीगंज-झापाको गौरीगंज गाउँपालिकाले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग स्नातक तहको चार वर्षे प्राविधिक तथा सूचना प्रविधिका विषयमा कक्षा सञ्चालन गर्ने सम्झौता गरेको छ। यस सम्झौतापछि गाउँपालिकाभित्र उच्च शिक्षाको पहुँच अझ सहज हुने छ।
सो सम्झौतामा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुर्वणलाल बज्राचार्यले संयुक्तरूपमा हस्ताक्षर गर्नुभयाे। सम्झौता पत्र आदान–प्रदान कार्यक्रम हिजो सोमबार विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको हो। समझदारी अनुसार विश्वविद्यालयले संस्कृति आदानप्रदान भाषा शिक्षण, अनुसन्धान कार्य सञ्चालनका लागि काम गर्नेछ। 

गाउँपालिकामा स्नातक तहका प्राविधिक र सूचना प्रविधि सम्बन्धी कक्षाहरू सञ्चालन गर्ने गरी भएको यो सम्झौताले यहाँका विद्यार्थीलाई काठमाडौँ वा अन्य सहर धाउनुपर्ने बाध्यता घटाउने छ। यसले ग्रामीण भेगका विद्यार्थीलाई गाउँमै उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण तयार गर्ने विश्वास गरिएको छ।

सम्झौता पत्र आदान–प्रदान कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, झापा दमकका नेकपा एमाले केन्द्रीय सदस्य तथा सामाजिक व्यक्तित्व गोविन्द थापा लगायतको उपस्थिति थियो।

गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले गाउँमै स्नातक तहका कक्षा सञ्चालन हुनु गाउँपालिकाका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयाे। उहाँले विद्यार्थीहरूलाई आफ्नै गाउँपालिकामा बस्दै गुणस्तरीय शिक्षा हासिल गर्न सकिने वातावरण बनेकोमा खुशी व्यक्त गर्नुभयाे। उपकुलपति डा. बज्राचार्यले ग्रामीण तहमा उच्च शिक्षा विस्तार गर्नु विश्वविद्यालयको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै यस सहकार्यलाई दीर्घकालीन बनाउन प्रतिबद्धता जनाउनुभयाे।

यसअघि उच्च शिक्षा प्राप्त गर्नुपर्ने विद्यार्थीहरूलाई टाढा जानुपर्ने बाध्यता थियो। तर, अब गाउँमै सूचना प्रविधि र प्राविधिक शिक्षाको अध्ययन गर्न सकिने भएकाले गाउँपालिकामा शैक्षिक अवसरको नयाँ ढोका खुलेको छ। यस सम्झौताले स्थानीय तहमा शैक्षिक विकाससँगै सीपमूलक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।