अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी

तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताउनुभएको छ।

हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा सबै दिदीबहिनीलई शुभकामना व्यक्त गर्दै तीजले सामाजिक-सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको छ। 

उहाँले सन्देशमा तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्छ भन्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गर्नुभएको छ। उहाँले विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरोरूपमा जोडिएकोे छ भन्नुभयो। 

‘विवाहपश्चात् महिलाले जन्मघर छाडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘यस पर्वले चेली र माइतीबिचको आत्मीयता, परिवार र साथीसँगीबिचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ।’

उहाँले तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने बताउनुभएको छ। उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, ‘पछिल्ला वर्षमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको छ। तसर्थ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक छ।’