काठमाडौं- तीज बारे अनावश्यक लेखेर सनातन धर्ममाथि नै प्रहार भएको भन्दै गोरखापत्र जलाउन खोज्ने सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन्।
आज माइतीघरमा गरेको प्रदर्शनका क्रममा राजसंस्था समर्थक अभियन्ता सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो। राजावादीले केही युवाहरूसहित माइतीघर मण्डलामा पुगेर आजको गोरखापत्र दैनिक जलाउने प्रयास गरेका थिए। तर, प्रहरीले तत्कालै नियन्त्रणमा लिएपछि उनको प्रयास सफल भएन। पक्राउ परेका उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
गोरखापत्र दैनिकको पहिलो पृष्ठमा तीजको व्रतसम्बन्धी सामग्री प्रस्तुत गरिएको छ । ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकुल असर’ शीर्षकको समाचारले हिन्दू सनातन धर्मप्रति अनास्था फैलाउन खोजेको भन्दै सन्तोषको समूहले विरोध गरेको हो । सरकारी सञ्चारमाध्यमले नै हिन्दू धर्मविरोधी लेख प्रकाशन गरेको उनीहरूको आरोप छ ।
धादिङ घर भएका सन्तोषकुमार सिलवाल उर्फ सन्तोष राजावादी विभिन्न लफडामा पटक-पटक पक्राउ पर्ने र छुट्ने गरेका व्यक्ति हुन्। उनी यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा समेत पक्राउ परेका थिए।







प्रतिक्रिया