अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन व्यवस्थापन उपसमितिको बैठक: तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

एमाले महाधिवेशन व्यवस्थापन उपसमितिको बैठक: तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन


काठमाडौँ-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्नका सबै उपसमितिहरूलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिनुभएको छ। महासचिव पोखरेलले सबै उपसमितिलाई तयारीलाई तीव्र पार्न समेत निर्देशन दिनुभएको छ।

महाधिवेशन व्यवस्थापन समितिको आजको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विधान महाधिवेशनको मूल नारा तय भइसकेकोले अब त्यसकै आधारमा प्रचार-प्रसारको कामलाई व्यापक बनाउन पनि निर्देशन दिनु भएको छ।

पार्टी स्थायी कमिटी सदस्य एवं पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आठ वटै उपसमितिका प्रमुखहरूले आफ्नो आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका थिए। प्रतिनिधि, मञ्च तथा हल, स्वयम् सेवक,आवास,खाद्य व्यवस्थापन उपसमितिले आफ्नो तयारीका बारेमा रिपोर्टिङ गरेका छन्। यसै गरी प्रचार,यातायात,स्वास्थ्य,सांस्कृतिक,स्वागत गेट तथा साजसज्जा,दस्ताबेज प्रकाशन र कार्यालय तथा लजिस्टिक व्यवस्थापन टिमले आफ्ना तयारीका बारेमा रिपोर्टिङ गरेका छन्।

पार्टीको विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराज हलमा आयोजना गरिएको छ। पार्टीले हिजो मात्र महाधिवेशनको मूल नारा तय गरेको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल,सुखी नेपाली राष्ट्रिय गन्तव्य’लाई पार्टीले मूल नारा बनाएको छ।

गौतमका अनुसार स्वयम् सेवकका लागि विभिन्न जनसङ्गठनबाट करिब ३सय जनाको नाम सङ्कलन गरिएको छ। महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २हजार ३ सय ७८ रहेका छन्। प्रतिनिधि मात्र २ हजार १ सय २४ जनाले महाधिवेशनमा सहभागिता जनाउने छन् । महाधिवेशनको तयारीका बारेमा जानकारी दिनका लागि आगामी भदौ १८ गते पार्टीले बृहत् पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

आजको बैठकमा उपमहासचिव प्रदिप ज्ञवाली र विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो।